logo
२०८१ बैशाख २२ शनिवार



प्रहरीलाई ड्रोन क्यामरा र ल्यापटप सामग्री सहयोग

खुला |
प्रदेश |


प्रहरीलाई ड्रोन क्यामरा र ल्यापटप सामग्री सहयोग


बेलिना थापा
लमजुङ, फागुन १० गते । लमजुङ प्रहरीले ड्रोन क्यामरा र ल्यापटप कम्प्युटर प्राप्त गरेको छ । बेँसीसहर नगरपालिकाले अपराध अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामरा र ल्यापटप सहयोग गरेको हो ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई मंगलबार ड्रोन क्यामरा र ल्यापटप हस्तान्तरण गर्नुभयो । नगरपालिका प्रमुख अर्यालले समाजमा शान्ति सुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटप सहयोग गरेको बताउनुभयो ।

शान्ति सुरक्षा भएन भने समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारबाट नागरिक बञ्चित हुने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । ड्रोनको व्यवस्था भएमा अपराध भएको स्थानको बारेमा जानकारी पाउन सकिने र अपराधी उम्किन नसक्ने भएकाले सो सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।

‘समाजमा विभिन्न अपराध भइरहेको हुन्छ । प्रहरीले ड्रोनको प्रयोग गर्न सकेमा अपराध गर्न खोज्नेहरु भाग्छन् । अपराध गरेकाहरु उम्किन पाउँदैनन् । यसले अपराध अनुसन्धानमा थप सघाउ गर्छ’ उहाँले भन्नुभयो । अबको अपराध अनुसन्धान व्यवस्थित, बैज्ञानिक र अनुसन्धानमूलक हुनुपर्ने उहाँको भनाई छ ।

प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले नगरपालिकाले अतिआवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यालयमा राम्रो ल्यापटप नहुँदा काम सम्पादनमा समस्या भएको र अपराध अनुसन्धानको क्रममा ड्रोन आवश्यक परेकाले नगरपालिकासँग सहयोग मागेको उहाँले बताउनुभयो ।

प्रहरीको कामलाई थप गुणस्तरीय र प्रभावकारी बनाउनमा यसले सहयोग पुग्ने उहाँले बताउनुभयो । आफुहरु जनताको सेवामा तल्लिन रहेकाले समस्या परेको बेला २४ घण्टा नै जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो । नगरपालिकाकाअनुसार प्रहरी कार्यालयलाई १४ इन्चको डेल आई थ्रि ल्यापटप र ड्रोन क्यामरा प्रदान गरिएको छ ।

ड्रोन क्यामरा ६० हजार १ सय ७६ रुपियाँ ९९ पैसामा र ल्यापटप ५५ हजार ३ सय १० रुपियाँमा खरिद गरी प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताउनुभयो । सो सामग्रीले प्रहरीलाई कार्य सम्पादन र अपराध अनुसन्धानमा सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?