logo
२०८१ बैशाख २३ आईतवार



सिकाई केन्द्रका रुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र

खुला |
प्रदेश |


सिकाई केन्द्रका रुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र


अर्जुन काफ्ले
स्याङ्जा, फागुन ११ गते । वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रको रुपमा स्थापित हुँदैगएको छ । स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दैगरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेको छ ।

देशका विभिन्न पालिकाहरु, फोहोरमैलाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको अध्ययन गर्ने थलोको रुपमा विकसित हुँदै गएको छ । आर्थिक वर्ष २०७१–७२ बाट फोहोरमैला संकलन कार्य थालेको नगरपालिकामा हालसम्म नगरपालिका, गाउँपालिका तथा फोहोर मैला ब्यवस्थापन क्षेत्रमा काम गर्ने पाँचसय बढी विभिन्न संस्थाले अध्ययन अवलोकन गरिसकेको वालिङ नगरपालिकाले जनाएको छ ।

फोहोरलाई नदी, खोला किनारमा थुपार्ने कामले वातावरण प्रदुषित भएको भन्दै विरोध भइरहँदा वालिङ नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतको रुपमा विकास गरेपछि यसको प्रक्रियाका बारेमा बुझ्न आउनेको संख्या बढ्दैगएको हो ।

वालिङ नगरपालिकाले गरेको फोहोरमैला ब्यवस्थापनको शुरुआती चरणदेखि हालसम्मका प्रक्रियाबारेमा एक दर्जन पालिकामा पुगेर सरोकारवालालाई प्रशिक्षण दिइएको वालिङ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताउनुभयो । वालिङ नगरपालिकाले फोहोरमैला सङ्कलन, वर्गीकरण र ब्यवस्थापन कसरी गर्दैआएको छ भन्नेमा प्रशिक्षण दिएको पाण्डेले बताउनुभयो ।

वालिङ नगरपालिकाले विशेषगरी बजार क्षेत्रका वडामा गठन गरिएको सरसफाई उपसमितिले आफ्नो टोलमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्दैआएको छ । फोहोरमैला क्षेत्रमा अन्य ठाउँमा नीजि क्षेत्रसँगको साझेदारीमा काम भइरहेको नपाले जनाएको छ । पछिल्लो समय वालिङ नगरपालिका आफैले ब्यवस्थापन गर्दैआएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

नगरपालिकाले फोहोरमैला क्षेत्रमा अगाडि बढाएको वालिङ मोडेल, कुहिने, नकुहिने, शिशाजन्य फोहोर सङ्कलन गरी ‘ईण्डष्ट्रियल वेस’ मा लैजाने र कुहिनेबाट कम्पोष्ट मल बनाउनु, सरकारी स्वामित्वमा वा सरकारको अगुवाई पहलकदमी रहनेगरी सेवामा आधारित हुनु र अधिकतम प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै वालिङ फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा पृथक अनि अब्बल भएको भट्टराईले दावी गर्नुभयो ।

वालिङ नगरपालिकाले फोहोरमैला ब्यवस्थापन गरेर २४ लाख रुपियाँ आम्दानी गरेको जनाएको छ । वालिङ नगरपालिकाको सरसफाई केन्द्र शैक्षिक थलोकोरुपमा विकसित हुँदैगएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

सरसफाई केन्द्र शैक्षिक थलोकारुपमा विकसित हुँदै गएपछि स्रोतको उपयोगिता, आय आर्जनको स्रोत र एकीकृत ब्यवस्थापनका दृष्टिले देशकै नमूना बनाउने अठोटका साथ काम अगाडि बढेको नगर प्रमुख खाँणले बताउनुभयो । प्लान्ट सञ्चालनमा आएपछि नेपालकै एकमात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्ने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?