logo
२०८१ बैशाख २० बिहीवार



आहारा खोजीमा वन्यजन्तु मानव बस्ती प्रवेश गर्दै

खुला |
प्रदेश |


आहारा खोजीमा वन्यजन्तु मानव बस्ती प्रवेश गर्दै


जनार्जन खत्री
सर्लाही, फागुन १२ गते । आहाराको खोजीमा जङ्गली जनावरहरु मानव बस्ती र किसानको खेतबारीमा आउने क्रम बढेको छ । आहारा खोज्दै मानव बस्तीमा छिर्ने हरिण, बँदेल, निलगाइ लगायतका जङ्गली जनावरको शिकार बढेको स्थानीयवासीले बताएका छन् ।

सोमबार बिहान बस्तीमा पसेको एउटा हरिणलाई डिभिजन वन कार्यालय सर्लाहीको टोलीले लालबन्दी नगरपालिका –१७, रानिगञ्जबाट उद्धार गरेको छ । गाउँ पसेपछि कुकुरले चिथोरेर घाइते बनाएको हरिणको डिभिजन वन कार्यालयमै राखेर उपचार चलिरहेको छ । सर्लाहीमा यसरी जङ्गली जनावर मानव बस्तीमा पसेको पहिलो घटना भने नभएको स्थानीयको भनाइ छ ।

अतिक्रमण र तस्करीका कारण वनक्षेत्र उजाड बन्दै गएपछि वन्यजन्तुहरु बाक्लो मात्रामा मानव बस्तीमा आउन थालेका छन् । “शिकारीले धेरै बन्यजन्तु मारिसकेका छन्, बाँचेका केही आहाराको खोजीमा खेतबारी र गाउँतिर आइरहेका हुन्छन्,” लालबन्दी नगरपालिका–१७, रानिगञ्जका स्थानीयवासी गोपाल अधिकारीले भन्नुभयो, “त्यसरी गाउँमा आउने हरिण, बँदेल समेत लुकिछिपी शिकार गर्नेगरेका छन् ।”

वन कार्यालयका कर्मचारी थाहा पाउँदा मात्रै बस्ती छिरेर घाइते भएको जङ्गली जनावरको उद्धार भएपनि धेरैले वनलाई थाहा नै नदिइ मारेर खाने गरेको बताउनुभयो। रानिगञ्जसहित कालिन्जोर, सागरनाथ, गौरीशङ्कर, घुर्कौली, मूर्तिया, जानकीनगर लगायतका क्षेत्रमा बस्ती छेउछाउमै जङ्गली जनावरहरु आउनेगरेका छन् ।

वन क्षेत्रभित्र आफ्नो बासस्थान मासिएको र वन उजाड बन्दै गएपछि आहाराको अभावमा जङ्गली जनावरहरु मानवबस्तीमा पस्न थालेका वनका कर्मचारीले बताएका छन् । डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी एवं सहायक वन अधिकृत राकेश रञ्जनले पछिल्लो समय जङ्गली जनावर सङ्कटमा पर्दै गइरहेको स्वीकार गर्नुभयो ।

वन कार्यालयको तर्फबाट जङ्गली जनावरको संरक्षण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । “हामीले नियमित वन गस्ती गर्दा शिकार गर्नेहरु हतोत्साहित् हुन्छन्, यसबाट वन्यजन्तुको संरक्षण भइरहेको छ,” सहायक वन अधिकृत रञ्जनले भन्नुभयो, “गाउँ पसेर घाइते भएका जङ्गली जनावर समय समयमा उद्धार गरेर उपचारपश्चात् वनमै लगेर छोड्ने गरेका छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?