logo
२०८१ बैशाख १२ बुधवार



व्यासको सिनामा गाडी पुग्दा स्थानीय खुशी

खुला |
प्रदेश |


व्यासको सिनामा गाडी पुग्दा स्थानीय खुशी


लोकेन्द्र जोशी
दार्चुला, फागुन १२ गते । दार्चुलाको व्यास गाउँपालिका –३ सिनामा पहिलो पटक जीप पुगेपछि स्थानीय खुशी भएका छन् । दार्चुला सदरमुकाम खलङ्गाबाट दुर्गमको स्थानीय तह व्यासको वडा ३ कार्यालयमा गाडी पुगेपछि स्थानीय खुसी हुँदै चालक र जनप्रतिनिधि लगायत सरोकारवालालाई सम्मान र स्वागत गरेको वडाअध्यक्ष उपेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

राष्ट्रिय महत्वको महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकखण्डसँग जोडिएको सिना सडक ८० लाख बजेटमा निर्माण सम्पन्न भएको वडाअध्यक्ष धामीले बताउनुभयो । सिनाको तर्कल्ला भन्ने ठाउँसम्म जीप सञ्चालनमा आएको स्थानीयले बताएका छन् । भगौलिक विकट्ता र यातायातको पहुँच बाहिर रहेकाले व्यासबासी तुईनको साहारामा महाकाली नदी तरेर भारतीय बाटोको प्रयोग गर्दै दार्चुला सदरमुकाम खलंगासम्म आवतजावत गर्नेगरेका छन् ।

गाउँसम्म नियमित सडक सञ्चालन गर्न सके यातायातमा भोग्नुपरेको परनिर्भरता हट्ने र नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सकिने वडाअध्यक्ष धामीले बताउनुभयो । दार्चुला–तिङ्कर सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन गरिदिन स्थानीय राजेन्द्र कुवँरले अनुरोध गर्नुभयो ।

कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका विकट क्षेत्रलाई जोड्दै चीनको सीमा नाकासम्म पुग्ने महाकाली करिडोर निर्माणको कामले गति लिन नसकेको स्थानीयको गुनासो छ । यो सडक बन्दा सुदूर पहाडको ठूलो भूभाग सिधै तराईसँग जोडिन्छ तर अहिलेसम्म महाकाली करिडोरको ४२५ किलोमिटरमध्ये डेढसय किलोमिटर मात्र ट्रयाक खुलेको छ ।

दार्चुला–तिङ्कर सडकको १३४ किलोमिटरमध्ये जम्मा ४५ किलोमिटर ट्याक खुल्न १३ वर्ष लागेको छ  । १० वर्षमा तिङ्कर भन्ज्याङ छिचोल्ने लक्ष्यअनुरूप निर्माण सुरु गरिएको सो सडकले सात आठ वर्षसम्म राताकाठा भीर काट्न नसकेको स्थानीयको भनाई छ ।

जनप्रतिनिधि र स्थानीय प्रशासनको बारम्बारको ताकेतापछि २०७४ मा राताकाठा भीरको ट्रयाक खोलिएको हो । अहिले व्यास गाउँपालिकाको केन्द्रसम्म सडकको ट्रयाक खुलेको छ । व्यासको माथिल्लो क्षेत्रमा निर्माण व्यवसायीले सडक निर्माणको काम गर्न नसकेपछि नेपाली सेनालाई जिम्मा दिइएको छ । नेपाली सेनाले दुई ठाउँमा बेस क्याम्प खडा गरेर निर्माण कार्य गरिरहेको जनाएको छ ।

१८ अर्ब रुपियाँ लागत अनुमान गरिएको महाकाली करिडोर आयोजनामा हालसम्म डेढ अर्ब रुपियाँ खर्च भएको छ  । चालु आर्थिक बर्षमा बहुबर्षे ठेक्का आह्वानका लागि सरकारले बजेटको सुनिश्चित्ता गरेको आयोजनाले जनाएको छ । दार्चुला–तिङ्कर सडकले दुहुँ गाउँपालिकाको सबै वडालाई जोडेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?