logo
२०८१ बैशाख १७ सोमवार



हँसपुर नगरपालिकामा स्थानीयको ताला

खुला |
प्रदेश |


हँसपुर नगरपालिकामा स्थानीयको ताला


विजयकुमार साह
ढल्केवर, फागुन १२ गते । धनुषाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् । हँसपुर नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द मण्डलले फर्जी कागजात तयार गरेर अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको, विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बिहिबार स्थानीयले कार्यालयको मूल गेटमा ताला लगाएका हुन् ।

स्थानीय बलिराम कापरीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाएको नगरपालिकाका कर्मचारीले बताएका छन् । नगर प्रमुख मण्डलले कार्यालयमा आफू अनुकूलको अधिकृत ल्याउन कार्यपालिकाको फर्जी बैठक राखेर अधिकृत अधिकारीलाई सरुवा गराएको स्थानीय युवा कापरीले बताउनुभयो ।

अधिकृत अधिकारीको स्थानमा यसअघि जिल्ला विकास समिति धनुषामा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दा खेपिसकेका रामभजन यादवलाई यहाँ ल्याउने तयारी गरिएपछि विरोधमा कार्यालयमा ताला लगाएको उहाँले जानकारी दिनुभयो ।

धमाधम विकासको काम हुनुपर्ने समयमा अनुभवी अधिकृतलाई सरुवा गराएर विकास अवरुद्ध गर्ने कार्यमा स्वयम् नगरप्रमुख मण्डल लागेको आरोप समेत कापरीले लगाउनुभयो । यसअघिका अधिकृत अधिकारीलाई मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा काज सरुवा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?