logo
२०८१ मंसिर ११ मंगलवार



साधुलाई तेत्तीस हजार किलो दाउरा

खुला |


साधुलाई तेत्तीस हजार किलो दाउरा


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १३ गते । महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा साधुको आगमन बाक्लिएको छ । साधुलाई धुनी जगाउन यस पटक ३२ हजार ९४० केजी दाउरा नेपाल वन निगम लिमिटेडले पशुपति गुठी गोश्वारा कार्यालयलाई बुझाइसकेको छ । यस पटक काठ कञ्चनपुरबाट ल्याइएको हो।

विगतमा सुनसरी, मोरङ र धनगढीबाट काठ आउने गरेको थियो । यी अग्राखका काठ हुन् । वन निगम पशुपति डिपो प्रमुख द्रोणप्रसाद पोखरेलका अनुसार पशुपति क्षेत्रमा धुनीका लागि काठ आएको छ तर शवदाहका लागि तीन दिनसम्म मात्र पुग्ने काठ छ ।

निगमका कार्यकारी प्रमुख फौजदारी अभियोग लागेर सेवाबाट बर्खास्त गरिएपछि निर्णयात्मक कार्य गर्नसमेत कठिनाइ भइरहेको छ । गएको असारदेखि सञ्चालक समितिको बैठक बस्न सकेको छैन । शवदाहका लागि काठ प्रतिकेजी नौ रुपियाँ १७ पैसामा बिक्री गर्ने गरिएको छ ।

महाशिवरात्रि पर्वका लागि सित्तैमा काठ दिने गरिएको छ । राष्ट्रिय वन र विभिन्न आयोजनाबाट रुखका हाँगाबिँगा भनेर धुनी र शवदाहका लागि काठ दाउरा ल्याइने गरिएको छ । पशुपति गुठी गोश्वारा कार्यालयले दाउरा पशुपतिस्थित वज्रघरमा राखेको छ । पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार वज्रघरमा राखिएका दाउरा शवदाहका लागि दिनै मिल्दैन । अहिले शवदाहका लागि तीन दिनका लागि मात्र काठ रहेको बताउँदै टिम्बर पशुपति डिपो प्रमुख पोखरेलले साधुका लागि दाउरा आएको तर शवदाहका लागि दाउरा आउने निश्चित नभएको बताउनुभयो ।

शवदाहका लागि दैनिक छ हजार केजी दाउरा प्रयोग हुने गरेको छ । निजी क्षेत्रबाट वर्षका लागि १९ हजार केजी दाउरा खरिद गरिन्छ र अपुग दाउरा राष्ट्रिय वनबाट ल्याउने गरिएको छ । फागुन कृष्ण एकादशीका दिन मात्र धुनीका लागि साधुलाई दाउरा दिइन्छ । साधुले धुनी जगाएको खरानी लगाएपछि कल्याण हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?