logo
२०८१ बैशाख ४ मंगलवार



ढुङ्गामा मूर्ति अङ्कित मलेवा गुफा फेला

खुला |
प्रदेश |


ढुङ्गामा मूर्ति अङ्कित मलेवा गुफा फेला


बाबुराम शर्मा
चरिकोट, फागुन १३ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका –४ र ५ को सिमानामा रहेको देवीदेवताको ढुङ्गामा मूर्ति अङ्कित प्राकृतिक मलेवा गुफा फेला परेको छ । पालिकाभित्र रहेका परम्परागत मठमन्दिरको खोजी गरी प्रचारप्रसार गरेर विश्वसामु चिनाउने उद्देश्यका साथ अवलोकन भ्रमण गर्नेक्रममा यो गुफा फेला परेको गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्राकृतिक गुफा पालिकाकै महत्वको हुने देखिएको छ । करिब डेढ घण्टा पैदल हिँडेर जानुपर्ने ठाउँमा पदमार्ग निर्माण गर्ने सोच बनेको उहाँले बताउनुभयो । आगामी वर्षको बजेट विनियोजनमा प्राथमिकताका साथ बजेट राखिने उहाँले बताउनुभयो । देवीदेवताको वासस्थान रहेको यो गुफा आन्तरिक पर्यटनको मुख्य आकर्षणको केन्द्र बन्दैजाने पनि उहाँको विश्वास छ । यहाँ मलेवा पाइने हुनाले ‘मलेवा भीर’ भन्ने गरिन्छ ।

वडा नम्बर ५ को गौरीशङ्कर संरक्षण क्षेत्र व्यवस्थापन समिति सुरी र त्यहाँस्थित १० वटा सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा गुफाको अवलोकन भ्रमणको व्यवस्था मिलाएको जानकारी दिँदै अध्यक्ष खड्काले भन्नुभयो, “गुफाभित्र पत्थरमा महादेव, पार्वती, लक्ष्मी, बुद्धलगायतका देवीदेवताको प्राकृतिक आकृति छन् । यहाँ पानी रसाएको पनि देखिन्छ । यसैले यो हिन्दु र बौद्ध धर्मावलम्बी दर्शनार्थीको आस्थाको स्थल मान्न सकिन्छ ।

गुफाको प्रवेशद्वारमा चट्टानका खुट्किला मिलेर रहेका छन् । यद्यपि यो मानव निर्मित नभई प्राकृतिक हो । त्यसैले यो गुफा अद्भुत छ । उहाँले भन्नुभयो, “यहाँसम्म पुग्ने पदमार्गसहितका संंरचना निर्माणका लागि वडा र पालिकाको तर्फबाट विषेश योजना बनाइदैंछ । वडा ५ स्थित वडा कार्यालय, इविथान हुँदै छिरुडाँडासम्म सवारी साधनमा पुग्न सकिन्छ ।”

त्यसपछि भीरको बाटो हुँदै हिड्नुपर्छ । सावधानी अपनाउँदैं भीरैभीरको बाटो हुदैँ हिँड्दा चराको चिरबिरले मनलाई शान्त तुल्याउँछ । करिब डेढ घण्टाको हिँडाइपछि गुफामा पुग्न सकिन्छ । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासका लागि विभिन्न स्थानमा स्थानीय कृषि उपज र उत्पादनको व्यवस्थासहित घरबास सञ्चालन गरिने योजना छ । उहाँले चट्टानयुक्त भीरमा रहेको गुफाभित्रको आकर्षक कलाकृति देख्दा आफू चकित भएको बताउँदै भन्नुभयो, “यहाँ पुगेपछि मृत्युपछिको स्वर्ग कल्पनामा मात्र हो भन्ने भान हुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?