logo
२०८१ बैशाख २० बिहीवार



कुखुराको सात क्विन्टल अवैध मासु बरामद

खुला |
प्रदेश |


कुखुराको सात क्विन्टल अवैध मासु बरामद


सिराज खान
नेपालगञ्ज, फागुन १३ गते । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा प्रतिबन्धित कुखुरा मासु प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार र क्वारेन्टाइन छलेर ल्याइएको करिब सात क्विन्टल मासु प्रहरीले नियन्त्रणमा लिएको हो ।


बर्डफ्लुको उच्च जोखिमका बीच पनि प्रतिबन्धित कुखुरा र मासुको अवैध आयात भइरहेको देखिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले जानकी गाउँपालिका १ साईगाउँ नजिकबाट शुक्रबार भन्सार र क्वारेन्टाइन छलेर चोरी पैठारी गरेर नेपालगञ्जतर्फ ल्याउँदैगरेको अवस्थामा चार क्विन्टल पाँच केजी कुखुराको मासु र दुई क्विन्टल ८० केजी हाँसको मासु गरी करिब सात क्विन्टल मासु बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काका अनुसार कुखुराको मासुको मूल्य १ लाख ६२ हजार रुपियाँ र हाँसको मासुको मूल्य १ लाख ९६ हजार रुपियाँ गरी कुल ३ लाख ५८ हजार रुपियाँको मासु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको सो मासुलाई थप आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख खड्काले बताउनुभयो । प्रहरीको सक्रियता बढेपछि नेपाली व्यवसायी र किसानले अवैध आयात रोकिने र स्थानीय व्यापार बढ्ने आशा गरेका छन् ।

भारतमा सस्तो पाइने गुाणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकाले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं रुपियाँ डुब्ने अवस्थामा आएको व्यवसायीले गुनासो गर्दै आएका छन् । व्यवसायीले जतिसुकै माग गरे पनि सो अवैध आयात र तस्करी निरन्तर जारी रहेको पाइएको छ ।

दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकाले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको कुखुरा उत्पादन गर्दैआएका व्यवसायी निजामुद्दीन इद्रिसीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?