काठमाडौं, फागुन १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग एक लाख ३५ हजार लिइसकेको अवस्थामा आयोगले बस्नेत, होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई चावहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्टाघरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको हो ।
घुस माग गरेको सूचना र उजुरी निवेदनका आधार आयोगबाट खटेको टोलीले उहाँहरुलाई पक्राउ गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धन भइरहेको समेत उहाँले बताउनुभयो ।