logo
२०८१ बैशाख २१ शुक्रवार



मिल्यो दशकअघिको सीमा विवाद

खुला |
प्रदेश |
समाज |


मिल्यो दशकअघिको सीमा विवाद


गोकर्ण पौडेल
तुलसीपुर, फागुन १३ गते । दुई दशकपछि दुई सामुदायिक वनबीचको सीमा विवाद समाधान भएको छ । तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको लामाखोला सामुदायिक वन र १८ मा रहेको रानी सामुदायिक वनबीचको विवाद लामो छलफल पछि समाधान भएको हो ।

२०५५ सालदेखि दुवै सामुदायिक वनबीच सीमा विवाद हुँदा उपभोक्ताहरु वन पैदावार उपभोगबाट वञ्चित हुँदैआएका थिए । दुवै सामुदायिक वनको कार्ययोजना र विधान नवीकरण पनि हुन सकेको थिएन । बुधबार र विहिबार सबडिभिजन वन कार्यालय बिजौरीको समन्वयनमा सामुदायिक वनका नेतृत्वकर्ता, वातावरण संरक्षणकर्मी र दुवै वडाका जनप्रतिनिधिबीच भएको छलफलबाट सीमा विवाद समाधान भएको छ ।

सबडिभिजन वन कार्यालय बिजौरीका फरेष्टर वीरजङ्ग वलीले दुवै सामुदायिक वनको सीमा विवाद क्षेत्रको बीचभागबाट नाप नक्साङ्कन गरी सीमा विवाद समाधान गरिएको छ । दुवैतर्फ नाप नक्साङ्कन गर्दा दुईसय सात मिटर भएको र दुवैलाई बराबर हुने गरेर एक सय साढे तीन मिटर क्षेत्रफललाई आधार मानेर नयाँ सीमा निर्धारण गरिएको छ । चार किल्ला समेत निर्धारण गरिएको छ ।

फरेष्टर वलीले विगतमा वनको नाप गर्दा रानी सामुदायिक वनको क्षेत्रफल एकसय चार हेक्टर क्षेत्रफल र लामाखोला महिला सामुदायिक वनको क्षेत्रफल एकसय ५२ हेक्टर रहेको बताउनुभयो । यद्यपि नयाँ प्रविधिबाट नापजाँच गर्दा अब भने दुवै सामुदायिक वनको क्षेत्रफलमा केही फरक हुने वलीले बताउनुभयो । वातावरणकर्मी डिल्लीबहादुर रावतले लामो समयसम्म सीमा विवाद हुँदा त्यस क्षेत्रमा संरक्षण, वन पैदावारजस्ता क्रियाकलापमा समस्या उत्पन्न भएको भए पनि ढिलै भएपनि दीर्घकालीनरुपमा समाधान भएको बताउनुभयो ।

रानी सामुदायिक वनका सचिव तथा १८ नम्बर वडा जनप्रतिनिधि शितल बुढामगरले सीमा विवादका कारण उपभोक्ताहरु वर्षौदेखि वन पैदावारबाट वञ्चित भएको बताउनुभयो । २०५५ सालयता दुवै सामुदायिक वनको सीमा विवादकै कारण कार्ययोजना, विधान नवीकरण भएको छैन । विगतमा पटक पटक विवाद समाधानका लागि सम्बन्धित निकायले पहल थाल्दा समेत समाधान भएको थिएन उहाँले भन्नुभयो ।

लामाखोला सामुदायिक वनका उपभोक्ता विभीषण रोकामगरले लामो समयको सीमा विवाद समाधानले उपभोक्तालाई राहत मिलेको बताउनुभयो । लामाखोला सामुदायिक वन क्षेत्रभित्र क्रान्ति संग्रहालय समेत बनेको छ । वनकै सीमा विवादका कारण कार्ययोजना, विधान नवीकरण नहुँदा संग्रहालयमा थप निर्माणको काम प्रभावित भएको उहाँले बताउनुभयो ।

दुवै सामुदायिक वनका प्रतिनिधि, सबडिभिजन कार्यालय, जनप्रतिनिधिले सीमा विवाद सहमति पत्रमा संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रमा रानी सामुदायिक वनको तर्फबाट वातावरण संरक्षणकर्मी डिल्लीबहादुर रावत, १८ का जनप्रतिनिधि शीतल बुढामगर र लामाखोला महिला सामुदायिक वनका तर्फबाट विभीषण रोकामगर, वडा नम्बर १९ का वडासदस्य केशर पुनले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा सब डिभिजन वन कार्यालय बिजौरीका रेन्जर ईश्वरीबहादुर बस्नेत र फरेष्टर वीरजङ्ग वलीको हस्ताक्षर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?