logo
२०८१ बैशाख २२ शनिवार


   भक्तपुर–नगरकोट सडक   



ठेकेदारको लापरबाहीले सधैँको सास्ती

खुला |


ठेकेदारको लापरबाहीले सधैँको सास्ती


काठमाडौँ, फागुन १४ गते । भक्तपुरस्थित भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको जिम्मा पाएका कम्पनीको चरम लापरबाहीले छ करोड रुपियाँभन्दा बढी लागत बढेको छ । त्यति मात्र होइन नगरकोटबाट घुम्न जाने पर्यटकले उबडखाबड र खाल्डाखुल्डीमा यात्रा गर्दा सास्ती भोग्नु परिरहेको छ । भक्तपुर–नगरकोट– सिपाघाट–बल्खु– दक्षिणकाली सडक योजनाका प्रमुख गौतम श्रेष्ठले निर्माण कम्पनीको चरम लापरबाहीका कारण पटक पटक म्याद थपिँदा पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

बीचबीचमा काम गर्दै र छोडिँदै गरिएको हुनाले हरेक वर्ष निर्माण गरिएका संरचनासमेत भत्किने गरेको बताउँदै उहाँले काम समयमा सम्पन्न नहुँदा हरेक वर्ष लागतसमेत बढ्दै गएको बताउनुभयो । काम ढिला गरिँदा लागत झन्डै छ करोड रुपियाँ बढेको भनाइ उहाँको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाख रुपियाँमा काम सक्ने भनिए पनि अहिले अनुमानित लागत बढाएर ३५ करोड ८७ लाख रुपियाँ कायम गरिएको छ । जसमध्ये अहिलेसम्म निर्माण कम्पनीलाई १७ करोड ३१ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

यो सडक निर्माण कार्यको जिम्मा पाएका नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभी हुन् । सो सडक निर्माणका लागि २०७३ कात्तिक ४ गते काम सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते सम्झौता भएको थियो तर पटक पटक गरी सात पटक म्याद थप्दा पनि सडकले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक यसै वर्षको चैत मसान्तसम्मका लागि म्याद थप गरिएको हो ।

चैतसम्म सक्ने दाबी
सडक निर्माण कार्य आगामी चैतसम्म सम्पन्न गर्ने योजना प्रमुख श्रेष्ठको दाबी छ । उहाँले भन्नुभयो, “यो वर्षको चैतसम्म जसरी पनि यो सडकको निर्माण कार्य सम्पन्न गरिने छ । ” उहाँका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति ८० प्रतिशत छ ।
सडकमा टेवा पर्खाल, नाली र कल्भर्ट निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो । कालोपत्रेबाहेकका आवश्यक सबै काम सम्पन्न भइसकेको भनाइ उहाँको छ । सडक क्षेत्रमा परेका रुखहरूको कटान तथा जग्गाको मुआब्जा वितरणको कार्य पूरा भएको छ । पहिला ‘सिङ्गल लेन’ रहेको यो सडक अहिले ‘डबल लेन’मा विस्तार भइरहेको छ । चौडाइ आठ मिटरको हुनेछ, जसमध्ये सात मिटर कालोपत्रे गरिने छ । आयोजनाका अनुसार यो सडकलाई डबल कालोपत्रे (डबल बिटिमिनस सरफेस ड्रेसिङ, डीबीएसडी) गरिन्छ ।

ठेक्का रद्द गर्न माग
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यो सडक निर्माण हुन नसक्दा नगरवासीले वर्षौंदेखि हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती भोग्दै आएको बताउँदै निर्माण कम्पनीले राजनीतिक पहुँचको बलमा कामै नगरी ठेक्काको म्याद थप्ने काम मात्र हुँदै आएको छ भन्नुुभयो । उहाँले यो सडक निर्माणको ठेक्का रद्द गर्नका लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग लिखित आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ताकेता गरेपछि दुई चार टिप्पर गिट्टी बालुवा ल्याएर काम गरेजस्तो देखाउँछ । फेरि काम बन्द गर्छ । यो सिलसिला वर्षौंदेखि चल्दै आएको छ । ”

भारतीय कम्पनी देखिएन
यो सडक निर्माणका जिम्मा दुईवटा कम्पनीले पाए पनि अहिलेसम्म नेपाली कम्पनीले मात्र काम गरेकाले निर्माण कार्य पूरा हुन ढिलाइ भएको हो । निर्माणका लागि सम्झौता भएयता अहिलेसम्म फिल्डमा भारतीय कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल)को उपस्थिति छैन । निर्माण कार्य सम्पन्न गर्नका लागि योजनाले एआईपीएललाई पत्र पठाएपछि अहिले सो कम्पनी सम्पर्कमा आएको र काममा सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?