चित्र मिजार
सिन्धुपाल्चोक, फागुन १४ गते । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्क गाउँमा एक घर एक धारा निमार्ण भएको छ । मेलम्ची नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ ।
धौले पैंयुखर्क खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत निर्मित उक्त गाउँमा खानेपानी आँगनमा झरेपछि स्थानीयहरुको बषौंदेखिको पानीका चरम समस्या समाधान भएको छ । मेलम्ची नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ र जनश्रमदान चार लाख ६७ हजार ३१४ रुपियाँलागतमा धारा निमार्ण भएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिनुभयो ।
धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताउनुभयो । उक्त बस्तीमा दलित, जनजाती, विपन्न बसोबास छ । उनीहरु यसअघि दुई घण्टाको समय लगाएर एक गाग्री पानी ल्याएर उपभोग गर्नुपर्ने अवस्थामा थिए । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुशी व्यक्त गर्नुभयो ।
सो गाउँका २३ घरधुरीका १६८ जनालाई स्वच्छ खानेपानीको सुविधा पुगेको छ । करेसाबारी र अन्य भौतिक संरचना निमार्णमा पानीले सहजता पुर्याएको छ । अहिले उक्त गाउँमा सरसफाई हुन थालेको छ भने पानीजन्य रोगको न्यूनिकरण हुन थालेको छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले नगरपालिकाका सबै नागरिक खानेपानीबाट बञ्चित हुन नपर्ने बताउनुभयो ।