logo
२०८१ बैशाख २० बिहीवार



कपिलबस्तुमा वातावरणमैत्री फाउन्टेन पार्क निर्माण

खुला |
प्रदेश |


कपिलबस्तुमा वातावरणमैत्री फाउन्टेन पार्क निर्माण


नारद कोहार
तौलिहवा, फागुन १४ गते । कपिलबस्तुमा डिभिजन वन कार्यालयको परिसरमा बातावरणमैत्री फाउन्टेन पार्क निर्माण गरिएको छ । वन कार्यालय तौलिहवाको पश्चिमतर्फ घाँसपातले फोहर बनेको करिब ६ कठ्ठा क्षेत्रफलमा नुमना पोखरीसहितको पार्क निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख विजय सुबेदीकाअनुसार सिमसार व्यवस्थापन तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत नेपालमै पहिलो पटक यस्तो फाउन्टेन पार्क निर्माण गरिएको बताउनुभयो । पार्कमा २ कठ्ठाको नमुना पोखरी, गोलघर र अजिन्गर उद्धार सेन्टर बनाइएको छ । पाँच लाख रुपियाँको लगानीमा वन कर्मचारीहरुले श्रमदान गरी पार्क निर्माण गरेको बताएका छन् ।

प्रमुख सुवेदीले भन्नुभयो ‘घासपातले फोहोर बनेको क्षेत्रमा पोखरीसहितको पार्क निर्माण गरिएको छ, यसले पर्यावरणलाई समेत मद्दत गर्छ ।’ पार्कमा स्थानीय जातको घाँस रोपिएका छन् । यस्तै, जीर्ण बनेको करिब २ कठ्ठा क्षेत्रफलको पोखरीलाई मर्मत गरी सुन्दरीकरण गरिएको छ । पोखरीमा इटा सिमेन्ट र छडको प्रयोग नगरी पोखरी सुन्दर बनाइएको छ ।

पोखरी किनार भागको ढुंगा छापिएको छ । पोखरीको वरिवरि डिलमा हिड्ने बाटो समेत निर्माण गरिएको उहाँले बताउनुभयो । पोखरीमा फाउन्टेन नोजल, बत्ती राखिएका छन् । तैरिरहेको फाउन्टेनले फोहरा फाल्ने गर्दछ । पोखरीमा तैरिरहेको फल्टीङ नेपालमै रहेको सहायक वन अधिकृत मदनमोहन श्यान्डीलले बताउनुभयो ।

सामुदायिक वनहरुलाई देखाउनका लागि यस्तो नमुना पार्क बनाइएको अधिकृत श्यान्डीलले बताउनुभयो । ‘ठेक्कामा दिइएको भए २० लाख बढी खर्च हुन्थ्यो तर वन कर्मचारीले श्रमदान र सिमेन्ट छड र इटाको प्रयोग बिना पाँच लाख रुपियाँको खर्चमा पार्क बन्यो’ उहाँले भन्नुभयो । सामुदायिक वनले समेत यस्ता पार्क निर्माण गर्नुपर्ने उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?