logo
२०८१ बैशाख १३ बिहीवार



छाउप्रथा रोक्न धामीझाँक्रीसँग प्रहरीको अन्तरक्रिया

खुला |
प्रदेश |


छाउप्रथा रोक्न धामीझाँक्रीसँग प्रहरीको अन्तरक्रिया


शेरबहादुर सार्की
बाजुरा, फागुन १४ गते । बाजुरामा छाउप्रथा रोक्न धामीझाक्रीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । धामीझाँक्री नै छाउप्रथा न्यूनिकरणमा तगारो बन्दैगएको भन्दै उनीहरुको चेतना परिवर्तन गराउन जिल्ला प्रहरी कार्यालय बाजुराले धामीझाँक्रीसँग अन्तरक्रिया गरेको बताएको छ । २०७६ सालमा नै छाउप्रथा अन्त्य गर्नेगरी बाजुराका विभिन्न स्थानीय तहमा रहेका छाउगोठ भत्काएपछि महिनावारी भएकाबेला यहाँका अधिकांश महिला घरमै बस्न थालेका थिए । महिनावारी भएको समय महिला यसरी घरमै बस्दैआएको भन्दै धामीझाँक्रीले देउता रिसायो भनेर डर देखाउन थालेपछि महिला छाउगोठ बस्न थालेका हुन् ।

महिनाबारी महिलामा हुने नियमित प्रक्रिया भएपनि धामीझाँक्रीले त्यसलाई अन्धविश्वाससँग जोडेर स्थानीयलाई त्रसित बनाउँदै आएका छन् । महिनावारी भएका महिलालाई घरभन्दा टाढा छाउगोठमा बस्न बाध्य बनाउँदै आएकोभन्दै प्रहरी कार्यालय बाजुराले धामीझाँक्रीसँगको अन्तरक्रिया कार्यक्रम सुरु गरेको बताएको छ ।

स्थानीय तह महिला तथा बालवालिका कार्यालय, किशोरीहरुको सहकार्य तथा समन्वयमा धामीभाँक्रीसँग अन्तरक्रिया कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रमुख चतुर्भूज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई हटाउने र छाउपडीगोठ मुक्त समाज निर्माण गर्नेगरी अहिले जिल्ला प्रहरी कार्यालय बाजुराले विभिन्न स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरेको हो ।”

कानुनी रुपमा यसो गर्नु दण्डनीय रहेको प्रहरीले बताएको छ । यहाँका अधिकांश पढेलेखेका महिला तथा धामीझाँक्रीले छाउप्रथा अँगाल्दै आएको प्रहरीको भनाई छ । छाउप्रथा अँगाल्दै आएपछि समाजमा कँयौै किशोरीले विभिन्न किसिमका यातना खेप्न बाध्य भएको स्थानीयको बुझाई छ ।

गाउँमा छाउगोठ भत्काउनेबेला यहाँका धामीझाँक्रीले महिला तथा किशोरीलाई गाली वेइज्जती गरेको बूढीगङ्गा नगरपालिकाका कल्पना नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिला यहाँको स्थानीय सरकार तथा प्रहरीको सहयोगमा छाउगोठ भत्काउने काम भयो, त्यसपछि गाउँमा अनिष्ट भएको भन्दै धामीझाँक्रीले भनेपछि महिनावारी भएकोबेला छाउगोठमा बस्न बाध्य भयौं ।”

फागुन १३ गते देखि बडिमालिका नगरपालिका ८ को घागर राप्का लगायतका वडामा रहेका धामीझाँक्रीहरुलाई समेटर मष्टेश्वरी विद्यालयलको सभा हलमा झण्डै २५ जना धामीझाँक्रीसँग अन्तरक्रिया कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख ओझाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?