logo
२०८१ बैशाख १७ सोमवार



केराखेती प्रवर्धनका लागि पिकअप भ्यान प्रदान

खुला |
प्रदेश |


केराखेती प्रवर्धनका लागि पिकअप भ्यान प्रदान


लीलाराज झापाली
बिर्तामोड, फागुन १५ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा केराखेती कृषकलाई ढुवानीका लागि सवारी साधन प्रदान गरिएको छ । झापा गाउँपालिका ३ रङ्गेथानको साधना सांस्कृतिक नमुना कृषक समूहलाई केरा खेतीको प्रवर्धनका लागि ८५ प्रतिशत अनुदानमा पिकअप भ्यान प्रदान गरिएको हो ।

२३ लाख ६० हजार रुपियाँको उक्त पिकअप भ्यान प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीले शनिवार सो भ्यान प्रदान गर्नुभयो । उक्त क्षेत्रमा हाल १०५ हेक्टर जमिनमा १४ जना कृषकले सामूहिक केराखेती गरिरहेका छन् ।

केरा ढुवानीका लागि सवारी साधन नहुँदा आफ्नो उत्पादन विक्रीका लागि बिचौलियाको भर पर्नुपरेको कृषक चन्द्र बस्नेतले बताउनुभयो । केराखेतीका लागि इजरायलमा साना किसान कृषि सहकारीमार्फत तालिम लिइ हाल सामूहिक केराखेती बस्नेतले गर्दै आउनुभएको छ । अब कम्तीमा आफ्नो उत्पादन नेपालभर पुर्याउन मद्दत मिलेको कृषक बस्नेतले बताउनुभयो ।

कृषिमन्त्री झलकसिंह दर्लामी मगरले कृषिमार्फत देशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभयो । मेहनती कृषकको साथमा सरकार रहेको भन्दै कृषकलाई प्रविधिमैत्री र स्रोत साधनयुक्त बनाउन प्रदेश सरकार सधै तत्पर रहेको उहाँले बताउनुभयो । उन्नत मल बीउ र प्रविधिका लागि सरकार सधै तयार रहेको भन्दै मन्त्री मगरले युवालाई विदेश जान छाडेर देशकै माटोमा रमाउने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख जयनारायण शाहले झापा गाउँपालिका केरा र मकैखेतीका लागि देशकै नमुना भए पनि कृषकले उचित मूल्य नपाउँदा समस्या भएको बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले कृषि पेशालाई पूर्ण व्यावसायिक बनाउन सरकार लागिपरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?