logo
२०८१ बैशाख २० बिहीवार



ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

खुला |
प्रदेश |
पर्यटन |


ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण


बेलिना थापा
लमजुङ, फागुन १५ गते । लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलालाई मध्यनजर गर्दै १ सय ८ धारा निर्माण गरिएको छ । मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार धारा निर्माणको अन्तिम चरणमा पुगेको र शिवरात्रिको दिनसम्म सबै धारा सञ्चालन हुनेछ । यस वर्षको मेलामा विशेष आकर्षणको रुपमा धारा रहेको उहाँले बताउनुभयो । धारामा पानी हालेर परीक्षण गरिएको छ । फागनु १६ गते बेलुकाबाट पानी हालिने बताइएको छ । मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण गरिएको समितिले जनाएको छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक पृष्ठभूमि रहेको सो मन्दिरमा शिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्छ । लमजुङसँगै, छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, बाग्लुङलगायत देशभरका जिल्लाबाट भक्तजन आउने गर्छन् । यसबर्ष पनि फागुन १७ गते मङ्गलबार महाशिवरात्रीको दिन ठूलो मेला लाग्ने भएको छ ।

धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमान श्रीमतीको नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् ।

सङ्कलित रकमबाट भक्तपुरबाट ढुङ्गा ल्याएर धारा निर्माण गरिएको छ । जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको समितिले जनाएको छ । महाशिवरात्रि मेलाको तयारीका लागि करिब ८० प्रतिशत काम सकिएको बताइएको छ । मन्दिर परिसर सरसफाइ, मन्दिर रङरोगनको काम भइरहेको छ । शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय भोर्लेटारसँग समन्वय भइरहेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा इशानेश्वरमा हरेक वर्ष मेलाको आयोजना हुँदैआएको छ । स्थानीयका अनुसार इशानेश्वर महादेवको मन्दिर करिब ६०० वर्षअघि निर्माण भएको बताइन्छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन यस मन्दिरमा आई रातभर बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेको बताइन्छ । त्यसबेला देखि ईशानेश्वर महादेवलाई सन्तानको चाहना राख्ने नरनारीले ठाडो बत्ती (उठेर बाल्ने बत्ती) बाल्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?