logo
२०८१ बैशाख १७ सोमवार



लौकहीका २८ जना भुमिहिनलाई लालपूर्जा वितरण

खुला |
प्रदेश |


लौकहीका २८ जना भुमिहिनलाई लालपूर्जा वितरण
फाइल तस्विर


जयकृष्ण यादव
इनरुवा, फागुन १५ गते । सुनसरीको कोसी गाउँपालिकाको लौकही सुकुम्बासी गाउँका २८ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । २०२४ सालमा नै नापी भई सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न बाँकी रहेकालाई एक कार्यक्रमबीच लालपूर्जा वितरण गरिएको हो ।

लौकहीको बंगाली टोलका स्थानीयलाई लालपूर्जा वितरण गरिएको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले जानकारी दिनुभयो । गिरीकाअनुसार पुस्तौंंदेखि साविक लौकही गाविस परिवर्तित कोसी गाउँपालीका १ लौकहीमा आफ्नै गाउँ ब्लकभित्रको जग्गामा बनाइएका घरमा बस्दै आएपनि उहाँहरुसँग घरजग्गाको लालपूर्जा थिएन ।

लालपूर्जा पाएपछि उहाँहरु जग्गाको मालिक बन्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि भूमिसुधार तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गर्नुभयो । हाल कोसी गाउँपालीका १ साविक लौकही गाविस ६ को कित्ता नम्बर ३ को गाउँ ब्लक अन्तर्गत रहेको घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण नापी विभागका महानिर्देशक सुशीलनरसिंह राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीकाअनुसार भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र कोसी गाउँपालीकाको संयुक्त पहलमा लालपुर्जाविहिनलाई लालपुर्जा वितरण गरिएको छ । लालपुर्जा वितरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नापी कार्यालय सुनसरीका प्रमुख संजीव साह, कोसी गाउँपालिकाका उपाध्यक्ष अनिता यादव, वडा १ का वडाध्यक्ष राजकुमार साह, लालपूर्जा वितरण गर्ने समन्वय समितिका संयोजक निरन्जन मण्डललगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?