logo
२०८१ बैशाख ४ मंगलवार



मार्तडीे– कोल्टी सडकको कालोपत्रे काममा ढिलाइ

खुला |
प्रदेश |


मार्तडीे– कोल्टी सडकको कालोपत्रे काममा ढिलाइ
कालोपत्रेको पर्खाइमा रहेको मार्तडी कोल्टी सडक । तस्बिर – शेरबहादुर सार्की



शेरबहादुर सार्कीे
बाजुरा, फागुन १६ गते । बाजुराको मार्तडी कोल्टी सडक निर्माणकार्य सुरु भएको झण्डै २२ वर्ष पुग्यो । २०५६ साल फागुनदेखि निर्माण कार्य सुरु गरिएको सो सडकको अझै स्तरोन्नति हुन सकेको छैन ।

लामो समयदेखि सडकको स्तरोन्नति नहुँदा जिल्लाको पूर्वीउत्तर क्षेत्रका स्थानीयवासीलाई वर्षाको झरी र हिउँदको हिमपातले बाटो अवरुद्ध बन्दै गरेको उनीहरुलाई कोल्टीदेखि मार्तडीसम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।

केही वर्ष यता सडक डिभिजन कार्यालय अछामले मार्तडी कोल्टी सम्मको कच्ची सडक निर्माण कार्य सम्पन्न गर्दै सो सडकमा छोटा दूरीका सवारी साधान सञ्चालनमा ल्याएको भएपनि पक्की सडकमा आउजाउ गर्न भने पूर्वीउत्तर क्षेत्रका स्थानीयवासीको अझै सपनाको रुपमा भएको छ ।

मार्तडीदेखि कोल्टसम्म सुचारु हुँदै आएका यी छोटा दूरीका सवारी साधानले केही सहज बनाएको भए पनि वर्षाको समय सँधै बाटो अवरुद्ध बन्दै गरेकाले यहाँका स्थानीयहरुलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको बूढीनन्दा नगरपालिका स्थानीय रामबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमै सडकको स्तरोन्नति नहुँदा जिल्लाको पूर्वीउत्तर क्षेत्रका स्थानीयवासीको वर्षाको समय सधैँ खाद्यान सङ्कट हुँदै आएको छ ।’’

बाढीपहिरोका कारण मार्तडीदेखि कोल्टीसम्मको बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीले वर्षा दैनिक उपभोग्यका सामान ढुवानी गर्न नसकेपछि खाद्यानको सङ्कट व्यहोर्नुपरेको बोहराले बताउनुभयो ।

२०७६ सालमा मार्तडी कोल्टी सडकलाई कालोपत्रे गर्नका लागि दुइवटा कम्पनीले ठेक्का पाएको थियो । मार्तडी बसपार्कदेखि चुथीको झण्डै नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने सम्मको झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टी सम्मको २६ किलो मिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौंडाले ६२ करोडमा ठेक्का लिएको पूर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाण्डौ मार्तडीदेखि चुथी सम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको समय २०७९ असार मसान्तसम्म छ । ’’

यता, चुथीदेखि ढम्कने सम्मको ६ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेक्का लिएका यज्ञ शाहीले भने तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि उसलाई फेरि २०७८ चैतसम्म म्याद थप गरिएको छ ।

ढम्कनेदेखि कोल्टीसम्मको सडक कालोपत्रे गर्ने समय भने २०८१ सम्म रहेको पूर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज धामीले बताउनुभयो ।

यता, ठेकदारको लापर्बाहीले मार्तडीदेखि कोल्टी सडकको कालोपत्रे गर्ने काममा निकै ढिलाइ भएको स्थानीयको गुनासो छ । मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि झण्डै ८५ करोडमा ठेक्का लिने दुई कम्पनीले झण्डै २३ करोड पहिलो किस्ता भुक्तानी लिएका छन् ।
अविरल वर्षाका कारण बाटो बन्द हुँदा सामान ढुवानीमा समस्या आएकाले तोकेको समयमै सडकको कालोपत्रे गर्न नसकेको ठेकेदार कम्पनीको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?