logo
२०८१ बैशाख १३ बिहीवार



रहरले मूर्ति बनाउने पेशाबाट वार्षिक आठ लाख रुपियाँ कमाई

खुला |
प्रदेश |


रहरले मूर्ति बनाउने पेशाबाट वार्षिक आठ लाख रुपियाँ कमाई


ललित बसेल
सुर्खेत, फागुन १६ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका —२ लगामका ३३ वर्षीय पुष्कल पौडेलका लागि चार वर्ष अगाडि रहरमा गरेको चित्र बनाउने काम अहिले परिवार धान्ने प्रमुख व्यवसाय भएको छ । मूर्ति बनाउने काम वार्षिक लाखौंं रुपियाँ आर्जन गर्ने माध्यम बनेको उहाँको बझाई छ ।

सुरुमा कागजमा विभिन्न देवीदेउताहरुको चित्र कोर्दैगर्दा पछि सिमेन्टबाट ठूला आकारमा मूर्ति बनाउने रहर जाग्यो । सक्छु कि सक्दैन भन्ने आत्मविश्वास नभए पनि पहिलो मूर्ति भगवान शिवको बनाउने प्रयास गरेपछि सफल भएँ उहाँले भन्नुभयो । पुष्कलले कागजमा चित्र कोर्दाकोर्दै मूर्ति बनाउने रहर जागेपछि अहिले यसैलाई नै मुख्य पेशा बनाएको बताउनुभयो । मूर्ति बनाउने पेशाबाट वार्षिक आठदेखि १० लाखसम्म कमाई गर्ने गरेको उहाँको भनाई छ । उहाँको सो पेशाबाट १३ जनाको परिवारको गुजारा चलेको छ ।

उहाँले बनाएको मूर्ति १५ हजार रुपियाँदेखि डेढ लाखसम्म मूल्यमा विक्री हुने गरेको छ । भगवानका मूर्ति मात्र होइन, अहिले शालिकहरु बनाउन चाहनेहरु पनि प्रशस्त भएकाले आफ्नो कमाई पनि बृद्धि हुँदैगएको उहाँको भनाई छ । माध्यमिक तहसम्मको अध्ययन गर्नुभएका पौडेल मूर्ति तथा शालिक बनाउन छिमेकी जिल्ला कैलाली, डोटीसम्म पुग्नुभएको छ । एक सातादेखि उहाँ वीरेन्द्रनगर—४ खोर्केमा रहेको प्रादेशिक शहीद पार्कमा शिव भगवानको मूर्ति बनाइरहनु भएको छ ।

मूर्ति बनाउने पेशा थालेपछि पुरानो पेशा कृषि कर्म पनि उहाँले छोडिसक्नुभएको छ । परिवारका अन्य दाजुभाइ कमाई गर्न भारत गएपनि उहाँ मूर्ति बनाउने पेशामै रमाउनुभएको बताउनुभयो । भारत गएका दाजुहरुले मासिक १८—२० हजार कमाउने गरेको बताउँदै उहाँले आफूले एउटै मूर्तिबाट डेढ लाखसम्म कमाउने गरेको जानकारी दिनुभयो । सुरुमा आफू पनि कमाई गर्न भारत जानेगरेको उहाँले सम्झनुभयो ।

तीन फिटको मूर्ति बनाउन ११ दिन लाग्ने उहाँको भनाई छ । काँग्रेस सुर्खेतका पूर्व सभापति एवं पूर्वमन्त्री स्व. तप्तबहादुर विष्टको शालिक ५० हजारमा, कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको शालिक डेढ लाखमा बनाएको उहाँले बताउनुभयो । पुष्कलले मूर्ति तथा शालिक बनाउन सम्बन्धितहरुको घरमै जानेगरेको बताउनुभयो ।

सुरुमा साना चराचुरुङ्गी, फूल तथा भगवानको मूर्ति बनाएर राख्नेगरेको र विक्री गर्ने थाहा नपाएको बताउने पुष्कलले पछि थोरै प्रचारप्रसार हुन थालेपछि अहिले मूर्ति तथा शालिक बनाउन भ्याइ नभ्याइ भएको बताउनुभयो । देवीदेउता, फूल, पशुपंन्छीलगायतको शालिक तथा मूर्ति बनाउन सक्ने दावी गर्नुभयो । मूर्ति बनाउने सीप आफूले अहिलेसम्म कसैबाट नसिकेको भन्दै बजारमा साँचोबाट मूर्ति बनाउने गरेको तर आफूलाई सिमेन्ट, बालुवाबाटै मूर्ति शालिक बनाउने गरेको जानकारी दिनुभयो ।

पुष्कलको सीपवारे थाहा पाएपछि वीरेन्द्रनगर—४ मा रहेको प्रादेशिक शहीद पार्कको संरक्षणको जिम्मा लिएको भैरब सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर कार्कीले वीरेन्द्रनगर बोलाउनुभयो । पार्कमा भगवान शिवको मूर्ति बनाउन आग्रह गरेपछि अहिले धमाधम मूर्ति बनाइरहनुभएको छ ।

शिवरात्रीमा शिवको मूर्ति सम्पन्न गर्ने तयारी भएको उहाँले बताउनुभयो । अध्यक्ष कार्कीले भगवान शिवको मूर्तिपछि अन्य मूर्तिहरु पनि उहाँलाई नै बनाउन लगाउने बताउनुभयो । हातमा गज्जबको सीप भएको व्यक्ति दूरदराजमा रहेकाले सीपको प्रचार गर्न पनि वीरेन्द्रनगरमा बोलाइएको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?