logo
२०८१ बैशाख १३ बिहीवार



झडपमा एक जना महिला घाईते

खुला |
प्रदेश |


झडपमा एक जना महिला घाईते


राजन रावत
हुम्ला, फागुन १६ गते । नयाँ पर्यटकीय सडक निर्माण गर्नेक्रममा दुई गाउँका स्थानीयबीचको बिबादपछि झडप हुँदा एक जना महिला घाईते हुनुभएको छ । सलीसल्लाबाट पिप्लाङ, माछापानी, नेप्का हुँदै चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य सुरु गर्नेक्रममा झडप हुँदा गाउँका एक महिला घाईते हुनुभएको हो ।

चङ्खेली गाउँपालिका कार्य समितिको सदस्य समेत रहनु भएका नेप्का गाउँकी देउरुपा तामाङले नयाँ सडकको निर्माण सुरु गर्नेक्रममा घट्टेचौरमा नेक्पा र पाली गाउँका स्थानीयबीच भएको झडपले धर्म तामाङ घाईते भएर बेहोस हुनुभएको बताउनुभयो । निर्माण कम्पनीले सडक निर्माणको काम स्काभेटरबाट सुरु गर्न खोज्दा पाली गाउँका स्थानीयले अग्लो स्थानबाट ढुङ्गामुढा गरेर झगडा सुरु गरेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले सडक निर्माणका क्रममा बिबाद हुँदा दुई पक्षबीच झडप भएपछि महिलाको अनुहारमा चोट लागेको बताउनुभयो । घाईते महिलालाई प्रहरीले बोकेर स्वास्थ्य चौकीसम्म स्ट्रेचरमा ल्याई उपचार गराएको बताउनुभयो । घाईतेको दाँत हल्लिएको र चोट लागेको स्थानमा चार वटा टाँका लगाइएको छ । अहिले पनि घाईते महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाले सहजिकरण गरेर दुई गाउँबीच भएको बिबाद समाधान गर्न नसकेपछि बिबादले झडपको रुप लिएको स्थानीयले बताएका छन् । चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य चङ्खेली गाउँपालिका –४ को पाली र ५ को नेप्का गाउँवासीको आपसी बिबादको कारण सडक निर्माण कार्य रोकिएको थियो । सो खण्डबाट सडक निर्माण नभएर निर्माण कार्य अगाडि नबढ्ने र डीपीआर अनुसार सडक निर्माण गर्नुपर्ने माग नेक्पावासीको रहँदै आएको छ ।

यता वडा ४ का पाली गाउँका स्थानीयले सडक पाली गाउँ छोएर जानु पर्ने माग राख्दै आएका छन् । पाली गाउँसम्म सडक निर्माणको कार्य पुर्वाधार बिकास कार्यालयले हाल पनि गरिरहेको छ । यसअघि दुबै गाउँवासीलाई गाउँपालिकाले बोलाएर छलफल गरेको भएपनि सहमति हुन सकेको थिएन । हिल्सा– सिमकोट सडक आयोजनाले दुई गाउँको बिबादका कारण पिप्लाङदेखि चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य चालु आर्थिक वर्षको स्वीकृत योजनाअनुसार सडक निर्माण कार्य सुरु गर्नेक्रममा रोकिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?