logo
२०८१ बैशाख १८ मंगलवार



गलेश्वर मन्दिर परिसरमै कालिगण्डकीको जल स्नान गर्न पाइने

खुला |
प्रदेश |
पर्यटन |


गलेश्वर मन्दिर परिसरमै कालिगण्डकीको जल स्नान गर्न पाइने


अमृतप्रसाद पौडेल
बेनी, फागुन १६ गते । हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल गलेश्वरधाममा ११ वटा गौमुखी धारा जडान गरिएको छ । पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा लिइने हिमाली जिल्ला म्याग्दीको गलेश्वरधाममा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकीको जलले स्नान गर्ने व्यवस्था मिलाउन धारा बनाइएको हो ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीको आर्थिक सहयोगमा कालीगण्डकी नदीको पानी तानेर स्नानको प्रवन्ध मिलाइएको गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषले जनाएको छ । विश्वमै शालिग्राम पाइने एकमात्रै नदी कालीगण्डकीको किनारमा बनाइएको इनारबाट विदयुतीय पम्पबाट पानी तानेर गलेश्वरधाम मन्दीर परिसरमा स्नानका लागि व्यवस्था मिलाइएको छ ।

कालीगण्डकी नदीको किनारमा ९ मिटर गहिरो इनार बनाएर पम्पबाट तानिएको पानी नदी किनारदेखि ४५ मिटर माथि मन्दिर परिसरमा रहेको पानी ट्याङ्कीमा जम्मा गरिएको छ । जमिनदेखि झण्डै २० फिट अग्लो २५ हजार लिटर क्षमताको पानी ट्याङ्कीमा जम्मा भएको कालिगण्डकीको जललाई ११ वटा गौमुखी धारामार्फत स्नान गर्ने व्यवस्था मिलाइएको निर्माण समितिका सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको ३८ लाख एक हजार पाँचसय नौ रुपियाँको लागतमा गौमुखी धारा निर्माण गरिएको हो । गौमुखी धारा बनाउन अपुग रकम सहयोगी दाताबाट आठलाख ८७ हजार रुपियाँ सहयोग संंकलन गरेको सचिव बानियाँले जानकारी दिनुभयो । गौमुखीधारा जडान गरी गंगाजलले स्नान गर्ने व्यवस्था मिलाइएको आयोजना निर्माणमा ४५ लाख १६ हजार नौसय तीन रुपियाँ खर्च भएको बताइएको छ ।

निर्माणका लागि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त र सहयागे संकलन गरिएको रकमबाट एकलाख ७६ हजार सातसय ९२ रुपियाँ बचत भएको सचिव बानियाँको भनाइ छ । गलेश्वर मन्दिर परिसरमै पवित्र कालीगण्डकी नदीको जलले स्नान गरेर मन्दिरको दर्शन तथा पूजाआजा गर्न पाइने भएपछि भक्तजनलाई सहज हुने भएकाे छ ।

महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा नवनिर्मित गौमुखी धाराको उदघाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले गलेश्वर मन्दिरमा साउने सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा आउने भक्तजनको सुविधाका लागि मन्दिर परिसरमा गंगाजलले नुहाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?