logo
२०८१ बैशाख १७ सोमवार



विवादले काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित

खुला |
प्रदेश |


विवादले काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित


जनार्जन खत्री
सर्लाही, माघ १६ गते । दुई पक्षबीच विवाद बढेपछि नेपाली काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । क्षेत्र ४ अन्तर्गत बलरा नगरपालिकाको दुईवटा वडाबीच अधिवेशनलाई लिएर विवाद हुँदा जिल्ला अधिवेशन नै प्रभावित बनेको हो ।

बलरा नगरपालिका ९ अचलगढ र वडा ८ गडहीयामा हालसम्म वडा अधिवेशन हुन नसकेको काँग्रेस सर्लाहीले जनाएको छ । अचलगढमा मङ्सिर १२ गते वडा अधिवेशन गराउने क्रममा दुई पक्षबीच विवाद भएपछि गोली चलेको थियो । त्यसबेला काँग्रेसको दुई समूहबीच झडपको स्थिति सिर्जना भएपछि वडा अधिवेशनस्थलमा पुग्नुभएका प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहको अङ्गरक्षकले गोली चलाउनुभएको थियो ।

त्यस्तै, गडहीयामा पनि मङ्सिर १३ गते वडा अधिवेशन गराउन खोज्दा दुई पक्षबीच विवाद भई झडप नै भएको थियो । सो झडपमा परेर मतदान अधिकृत उमेशचन्द्र झासहित चार प्रहरी र केही पार्टी कार्यकर्ता घाइते भएका थिए । तीन महिनाअघि भएको झडपपछि बलराको ती दुई वडामा काँग्रेसले वडा अधिवेशन गराउनै सकेको छैन् । यसअघि यी दुईवटा वडाको अधिवेशन थाती राखेर प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन गराइएको थियो ।

जिल्लामा अझै बलरा नगरपालिकाको दुईवटा वडाको वडा अधिवेशन, २० वटा पालिकाको पालिका अधिवेशन र जिल्ला अधिवेशन हुन बाँकी छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही काँग्रेसको जिल्ला अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर सिंहले बलराको दुईवटा वडाको अधिवेशन गराउन दुवै समूहबीच सहमति जुटाउने प्रयास गरिरहेको बताउनुभयो ।

संस्थापन पक्ष अर्थात् जिल्ला सभापति नागेन्द्रकुमार राय पक्षले बलराका दुईवटा वडाको अधिवेशन सदरमुकाम मलङ्गवामा गर्नुपर्ने र संस्थापन इतर अर्थात पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षले भने सम्वन्धित वडामै अधिवेशन गराउनुपर्ने अडान लिएपछि विवाद भएको हो । जिल्ला सभापति नागेन्द्रकुमार रायले बारम्बार झडप भएर वडा अधिवेशन गर्न नसकिएकाले सुरक्षालाई ख्याल गर्दै बलराका दुईवटा वडाको अधिवेशन सदरमुकाम मलङ्गवामा गर्न आफूहरुले निर्वाचन अधिकृतसँग आग्रह गरेको जानकारी दिनुभयो ।

सङ्घीय सांसद समेत रहनुभएका रायले संसद बैठकमा सहभागी भएर आफू सोमबार मात्रै जिल्ला फर्किएको र अधिवेशनबारे निर्वाचन अधिकृतसँग समन्वय गर्ने बताउनुभयो । पूर्व जिल्ला सभापति लक्ष्मण रायले भने सबै कार्यकर्तालाई सदरमुकामसम्म आएर मतदान गर्न अनुकूल नहुने भएकाले वडामै वडा अधिवेशन हुनुपर्ने बताउनुभयो ।

काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्रकुमार सिंह र संस्थापन इतर समूहबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले प्रचारप्रसार तीव्र पार्नुभएको छ । अहिलेका जिल्ला सभापति राय पनि पुनः जिल्ला सभापतिमा आकाक्षी भएपनि उहाँ क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?