logo
२०८० चैत्र १६ शुक्रवार



दार्चुलाको लेकम केन्द्र सडकमार्गसँग जोडिदै

खुला |
प्रदेश |


दार्चुलाको लेकम केन्द्र सडकमार्गसँग जोडिदै


लोकेन्द्र जोशी
दार्चुला, फागुन १६ गते । दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटासम्म यातायातको पहुँच पुर्याउन सडकमा निर्माण कार्य भइरहेको छ । गाउँपालिकाले आफ्नै स्काइभेटर मेसिन प्रयोग गरेर गोकुलेश्वर–लाली सडकखण्ड अन्तर्गत बगौरा–रातामाटा सडकखण्डमा सडक निर्माणको काम गरिरहेको बताएको छ ।

यसअघि गाउँपालिकाको अस्थायी कार्यालय खरकडासम्म यातायातको पहुँच पुगेको भएपनि चालु आर्थिक बर्ष २०७८–७९ को कात्तिक मसान्तमा गाउँपालिकाले स्थायी केन्द्र रातामाटाबाट प्रशासनिक कामकाज सुरु गरेको छ । गाउँपालिकाको केन्द्रसम्म अबको एक हप्ताभित्रै सडक पुर्याउने उद्देश्यले तिब्रताकासाथ निर्माण कार्य भइरहेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा पहिले लेकम गाउँपालिकाको कुनैपनि वडामा सडकमार्गको पहुँच पुगेको थिएन । विगत चार बर्षमा ६ वटै वडामा गरेर ६५ किलोमिटर बढी सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो । गाउँपालिकाले नियुक्त गरेका चालक तथा अपरेटरले रातामाटा जोड्ने सडकको ट्रयाक खुलाउने काम गरिरहेका छन, लेकम गाउँपालिकाका सबइन्जिनियर दिपक धामीले भन्नुभयो ।

गाउँपालिकाको बजेटबाट इन्धन खरिद गरेर स्काइभेटर मेसिन प्रयोग गरिएको सबइन्जिनियर धामीले बताउनुभयो । सडक नपुग्दा विद्युतका तार पोल ढुवानीमा समेत समस्या भएको निर्माण व्यवसायी मोहनदेब पन्तले बताउनुभयो । दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको दार्चुलामा सात स्थानीय तहको केन्द्रसम्म सडकमार्गको पहुँच पुगेको छ ।

लेकम र अपिहिमाल गाउँपालिकाको केन्द्र अझैपनि सडक मार्गसम्म नजोडिदा अन्य विकास निर्माणका काम समेत प्रभावित भइरहेको स्थानीयको भनाई छ । यात्रु र सेवाग्राहीले सडक अभावमा सास्ती भोग्नुपरेको गुनासो गर्नेगरेका छन् । हालसम्म छ वटा स्थानीय तहको पहुँचमा पक्की सडक नपुगेको स्थानीयको भनाई छ ।

महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन् । दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अहिले पनि कच्ची सडकमार्गको विस्तार भएको छैन् । अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ ।

दार्चुलाका ६१ मध्ये हालसम्म ४६ वडालाई सडकमार्गले जोडेको छ । यसअघि ४५ वडामा सडक पुगेको भएपनि पछिल्लो समय व्यास गाउँपालिका ३ सिमामा सडक पुगेको छ । अझैपनि जिल्लाका १५ वटा वडा सडकमार्गबाट पूर्णरुपमा बञ्चित छन् । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाका सबै वडालाई सडकमार्गले छोएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?