logo
२०८१ बैशाख ६ बिहीवार



उत्कृष्ट उद्यमी कुञ्जाङलाई एक लाख राशीको पुरस्कार

खुला |
प्रदेश |


उत्कृष्ट उद्यमी कुञ्जाङलाई एक लाख राशीको पुरस्कार


नेत्र शाही
जुम्ला, फागुन १६ गते । जुम्ला चन्दननाथ नगरपालिका २ का कुञ्जाङ पुटिक लामा जुम्लाको उत्कृष्ट उद्यमी बन्नुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उहाँलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा घोषित गरेको हो । लामो समयदेखि तामाङ झोला तथा राडीपाखी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । कार्यालयले गरेको अध्ययनमा उहाँको उद्योग जिल्लाकै उत्कृष्ट भएको थियो । कुञ्जाङलाई एक लाख रुपियाँ राशीसहित सम्मानपत्रले सम्मानित गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्नुभयो । झोला, राडीपाखी, गलबन्दी, मोजा, लिउ, कालो कम्मल लगायतका सामग्री उत्पादन गर्दै आउनुभएको छ ।

पुरस्कारको लागि सूचना प्रकाशन गरेपछि ६ जनाको आवेदन परेको थियो । जसमध्ये उत्पादनमा गुणस्तरीयता, बजारीकरणमा सुलभता, लगनशीलता, धैर्यता र उत्पादनमुखी उद्यामी भएकाले उत्कृष्ट पुरस्कार जित्न सफल भएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।

उद्यमी प्रोत्साहन कार्यक्रमको छनौट गर्दा नाताबाद र कृपाबादको अन्त्य गरेर कामका आधारमा वितरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उत्कृष्ट उद्यमी छनौट गर्दा कर्णाली प्रदेश सरकारले बनाएको मापदण्डको पालना गरिएको थियो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले अनुदानको भरमा चलेको व्यवसाय प्रभावकारी हुन नसकेको बताउँदै उत्पादनमुखि व्यवसायले बजार लिएको बताउनुभयो । ‘अनुदानमा पहुँचवालाको हालीमुहाली रहेको उहाँले बताउनुभयो ।

उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले जिल्लामा चारदेखि पाँच हजार उद्योग दर्ता भएको बताउनुभयो । उद्यमी कुञ्जाङले निकै मिहिनेतकासाथ आफु उद्यमी भएको भन्दै यस्तो अवस्थामा मुल्यांकन गरेकोमा धन्यवाद दिनुभयो । उहाँले उत्कृष्ट उद्यमी भएर पुरस्कृत हुँदा हौसला थपिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?