logo
२०८१ बैशाख १३ बिहीवार



कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

खुला |
प्रदेश |


कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित


मुना हमाल
सुर्खेत, फागुन १६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । एमालेका प्रदेश सभा सदस्यहरुले सोमबार बसेको नवौँ अधिवेशनको दशौँ बैठक अवरुद्ध गरेका हुन् ।

एमालेका प्रदेश सभा सदस्यले उठेर विरोध जनाएका थिए । एमाले संसदीय दलका नेता यामलाल कंडेलले सरकारले सात बुँदे सहमति कार्यान्वयनको अवस्था, सरकारको निर्णय र कार्ययोजनाको जानकारी माग गर्नुभयो । “सर्वदलीय बैठकबाट सात बुँदे सहमति भएको थियो । हालसम्म कार्यान्वयन भएको छैन” उहाँले भन्नुभयो । सहमतिअनुसार काम भएमा सहकार्य र सहयोग गर्न एमाले तयार रहने उहाँको भनाई छ ।

माघ १८ गते प्रमुख प्रतिपक्ष र सरकारबीच सात बुँदे सहमति भएको थियो । सहमतिमा चालु आर्थिक वर्षको बजेट तथा योजना हेरफेर तथा प्रदेशसभा प्रभावकारी सञ्चालनका लागि सो सहमति भएको थियो । सहमतिमा १५ लाखभन्दा कम रुपियाँका योजना कार्यान्वयन नगर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा विगतमा रहेको कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेश सरकारको भूमिकालाई यथावत कायम गरी कार्यविधि सुधार गर्ने, पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्दा गत वर्ष नै दायित्व सिर्जना भइसकेका योजनाका लागि अलग बजेटको व्यवस्थापन गर्ने सहमति भएको थियो ।

सोहीअनुसार कर्णालीमा पाँच स्थानमा निर्वाचित सदस्य खालि रहेकाले त्यहाँ पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्दा प्रमुख प्रतिपक्ष दलसँग सल्लाह र सहमितमा अघि बढने, अधुरा योजना, काम सम्पन्न भएर भुक्तानी हुन बाँकी योजनाका लागि बजेट विनियोजन गर्ने, विनियोजन विधेयकमा वर्तमान अवस्थामा चैतभन्दा अघि रकमान्तर गर्ने लगायतको सहमति भएको थियो ।

बैठक अवरुद्ध भएपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभाको बैठक फागुन १८ गते बुधबारसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?