logo
२०८१ बैशाख १७ सोमवार



सडक दुर्घटनाबाट दाङमा तीन जनाको मृत्यु

खुला |
प्रदेश |


सडक दुर्घटनाबाट दाङमा तीन जनाको मृत्यु


गोकर्ण पौडेल
तुलसीपुर, फागुन १६ गते । दाङमा आइतबार राति भएका तीन सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा मोटरसाइकल र माइक्रो एकापसमा जुध्दा मोटरसाइकल चालक तुलसीपुर १८ मनिकापुरका २१ वर्षिय रमेश चौधरीको मृत्यु भएको हो ।

त्यसैगरी राति नै तुलसीपुर १९ डाँडागाउँमा गाडीले स्कुटरलाई ठक्कर दिंदा तुलसीपुर १७ का ताराबहादुर केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदैगरेको लु १ च ६२८९ नम्बरको पिकअप गाडीले घोराहीबाट तुलसीपुरतर्फ आउँदैगरेको रा ५ प ९०६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सोहीअनुसार तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुरस्थित ओम शान्ति सिनेमा हल नजिकै रा ५ प ४४९३ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक तुलसीपुर ६ बस्ने ३० बर्षिय मोहन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल विधुत पोलमा ठोकिएर दुर्घटना हुँदा गम्भिर घाईते हुनुभएका सुनारको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको छ । मृतक तीनै जना तुलसीपुर उपमहानगरपालिका निवासी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालकाअनुसार माइक्रो र मोटरसाइकल एकआपसमा जुध्दा माइक्रोमा आगलागी भएको थियो । तुलसीपुर उपमहानगरपालिकाकोे दमकल, प्रहरीले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट माइक्रो र मोेटरसाइकलमा पूर्णरुपमा क्षति भएको छ ।

दुर्घटनामा परेर तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षका रमेश वली, माइक्रो चालक तुलसीपुर ७ पर्सेनी करण परियार र उहाँका भाइ २४ वर्षका कमल परियार घाइते हुनु्भएको छ । वलीको नेपालगञ्जमा उपचार भइरहेको छ भने कमल र करण उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको यात्रुबाहक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदैगरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा दूर्घटना भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?