बिष्णुप्रसाद पोखरेल
दमक, फागुन १७ गते । झापाको ग्रामीण क्षेत्र गौरीगञ्ज गाँउपालिका–१ महाभारामा कृषि उपज बैंक (गोदाम घर) सुरु भएको छ । स्थानीय साना किसान सहकारी संस्था महाभारा र प्रदेश सरकार कृषि मन्त्रालयको एक करोड ४८ लाख लागतमा कृषि उपज बैंकको स्थापना भएको हो ।
५० प्रतिशत जनसहभागितामा प्रदेश सरकारको लगानीमा बनेको यस बैंकले किसानको स्थानीय उत्पादनलाई भण्डारण गर्ने जनाइएको छ । कृषिमन्त्री झलकसिंह दर्लामीका अनुसार अब किसानहरुले सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता हट्नेछ ।
कृषि उपज बैंकको उद्घाटनको क्रममा उहाँले स्थानीयहरुलाई प्रदेश सरकार र कृषि मन्त्रालय कृषकहरुको समस्याको विषयमा जानकार रहेको बताउनुहुँदै यस प्रकारका योजनाहरु निरन्तर सञ्चालन गरिने बताउनुभयो । कृषि उत्पादनको भण्डारण र बजारीकरणका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सधै तत्पर रहेको पनि उहाँको भनाइ छ ।
कृषि उपज बैंक सुरु भएसँगै संस्थाले हाल किसानहरुको २१ हजार मन धान खरिद गरिसकेको साना किसान सहकारी संस्थाका अध्यक्ष तिलकप्रसाद राजवंशीले जानकारी दिनुभयो । ३० हजार मन क्षमताको गोदाम बनेसँगै अब बिचौलियाहरुले धानको मूल्य निर्धारण गर्ने कार्य बन्द हुने उहाँको भनाइ छ ।