logo
२०८१ मंसिर १० सोमवार



राजमार्ग मर्मतमा आलटाल, धूलोले स्थानीय र यात्रुलाई सास्ती

खुला |


राजमार्ग मर्मतमा आलटाल, धूलोले स्थानीय र यात्रुलाई सास्ती


जनार्जन खत्री
सर्लाही, फागुन १७ गते । ठेकेदारका कारण सर्लाहीको पूर्व–पश्चिम राजमार्ग मर्मतमा ढिलाई भएको छ । जिल्लाको लालबन्दी, नवलपुर, नयाँरोडलगायतका स्थानमा कालोपत्रे गर्न राजमार्ग भत्काएर छाडेको महिनौ बितिसक्दा पनि काम हुन सकेको छैन । जसका कारण सडक छेउछाउ घर भएका स्थानीयवासी र यात्रुहरुले धूलोको मार खेपिरहेका छन् ।

ठेकेदारले बेला–बेलामा पानी हाल्ने हाल्ने गरेको भएपनि नियमित पानी नहाल्दा धूलो उडेर समस्या भइरहेको लालबन्दी नगरपालिका–९, बस्तीपुरका सुरज अधिकारीले गुनासो गर्नुभयो । सर्लाहीको पूर्व–पश्चिम राजमार्ग र राजमार्गका पुलहरु भत्किएको स्थानमा मर्मत गर्ने ठेक्का हिमडुङ ठोकर एण्ड इलाइट साह जेभीले लिएको छ ।

उक्त जेभीका ठेकेदार नरेन्द्र साहले सडकका खाल्डाखुल्डी पुर्न बेवास्ता गर्दा समस्या भइरहेको हो । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले ठेकेदार साहलाई अब तापक्रम समेत पुग्ने भएकाले चिसो लगायत अन्य कुनै पनि बहाना नगरी राजमार्ग र पुलका खाल्डाखुल्डीहरु पुर्न निर्देशन दिएको छ ।

डिभिजन सडक प्रमुख दारोगा प्रसादले आफूसँगको भेटमा ठेकेदार साहले दुई/चार दिनमै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । ठेकेदार साहले भने यसअघि पनि एक÷दुई दिनमै सडक मर्मतको काम सुरु गर्ने भन्दै पटक–पटक प्रतिबद्धता जनाएपनि काम सुरु भएको छैन ।

पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानसँगै लालबन्दी र हरिवन नगरपालिकाको सीमामा पर्ने लखन्देही खोलाको पुल समेत खाल्डाखुल्डी परेर अत्यन्तै जिर्ण छ । त्यस्तै, सर्लाहीमा अहिले दक्षिणी भेगमा पर्ने नेपाल–भारत सीमा छेउकै पूर्व–पश्चिम हुलाकी सडक धूलाम्मे हुँदा त्यस क्षेत्रका स्थानीयवासी र यात्रुहरुले धूलोको मार खेपिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?