logo
२०८१ मंसिर १० सोमवार



मोरङमा अव्यवस्थित बसोवासी स्थानीय सेवा केन्द्र उद्घाटन

खुला |


मोरङमा अव्यवस्थित बसोवासी स्थानीय सेवा केन्द्र उद्घाटन


हरि कोइराला
उर्लाबारी ,फागुन १८गते । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मङ्गलबार लेटाङमा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी स्थानीय सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।

कार्यलयको उद्घाटन गर्दै आयोग अध्यक्ष निरौलाले सरकार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनी बनाउने यो नै अन्तिम आयोग भएको बताउनुभयो । समस्या केन्द्रीत भएर सबै दलका प्रतिनिधिले सहयोग गरे भूमिहीनसम्बन्धि समस्या समाधान गर्न सकिने बताउनुहुँदै उहाँले राजनीतिभन्दा माथि उठेर काम गर्न आह्वान समेत गर्नुभयो । निरौलाले सुकुम्बासीका समस्यालाई चुनावी भोटको रुपमा प्रयोग नगर्न दलका नेताहरूसँग आग्रह गर्नुभयो । भूमि आयोगका मोरङ अध्यक्ष सुशीला घिमिरेले लेटाङमा रहेको समस्या अन्य पालिकामा भएको भन्दा फरक देखिएकोले यो समस्या समाधानका नयाँ कार्यविधि बनाएर अघि बढ्ने बताउनुभयो ।

लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले २०२४ सालदेखि लेटाङ नगरको मुख्य बजार नै कानुनी रुपमा अव्यवस्थित रहेको बताउनुभयो । राईले साढे ३ दशकदेखिको समस्या स्थायी रुपमा समाधान गर्न नगरपालिकाले सबैखाले सहयोग गर्ने बताउनुभयो । एउटै जमिनको दुईवटा नक्सा भएकोले त्यो जग्गालाई नयाँ नापजाँच गरि कायम गरिदिन नगर प्रमुख राईले आग्रह गर्नुभयो । २०२८ सालमा कायम भएको लेटाङ–२ (ङ) को ३५ विगाहा जमिन पुरै अव्यवस्थित भएको बताउँदै नेपाली काँग्रेस लेटाङका उपसभापति मदन भट्टराईले त्यहि जमिनलाई २०५५ सालमा अर्को नक्सा बनाएर थप समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । मोरङका प्रमुख नापी अधिकृत मणि रेग्मीले यो समस्या समाधान गर्न नयाँ कार्यविधि निर्माणका लागि राष्ट्रिय भूमि आयोगलाई सिफारिस गर्ने बताउनुभयो ।

लेटाङका पूर्व प्रधानपञ्च नीरविक्रम किराँतीले चिसाङ खोला पीडितलाई २०२२ सालमा स्थानान्तरण गरि बसोवास गराइएको लेटाङ बजार ५६ वर्षसम्म समाधान हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।

लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले नगरमा अघिल्लो आयोगले १७३ भूमिहीन दलित, ५३८ भुमिहीन सुकुम्बासी र ३४३९ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क तयार गरेको बताउनुभयो । तीमध्ये नयाँ आयोग गठन भएपछि ४० भूमिहीन दलित, २१० सुकुम्बासी र ३२७ अव्यवस्थित बसोवासीले प्रविष्ट गरिसकेको बताउनुभयो । चार हजार १५० मध्ये ५७७ ले नयाँ प्रविष्ट गरिसकेको र प्रविष्ट हुने क्रमजारी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?