बाबुराम शर्मा
दोलखा, फागुन १९ गते । करिब एक शताब्दीपछि ऐतिहासिक सहर दोलखामा ललितपुरको पौराणिक मानिएको हरिसिद्धिको १२ वर्षे नाच प्रदर्शन गर्न लागिएको छ ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले आगामी चैत २१ गतेदेखि पाँच दिन हरिसिद्धिको १२ वर्षे नाच प्रदर्शन हुने जानकारी दिनुभयो । नाच दोलखाको तल्लोटोलमा रहेको बहिरटोलस्थित चक्र डबलीमा प्रदर्शन गरिने तय भएको उहाँले बताउनुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनबीच यसबारे सहमति भइसकेको उहाँले जानकारी दिनुभयो । ललितपुरका प्रमुख चिरिबाबु महर्जन दुवैबीच फागुन २९ गते भगिनीसम्बन्ध कायम हुने एमओयु हुन पनि लागेको छ ।
यो सम्बन्ध कायम भएपछि दुवै स्थानीय तहबीच संस्कृति, पर्यटन प्रवर्धनका साथै आपसी सहयोग आदान प्रदान हुने अपेक्षा राखिएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख केसीले जानकारी दिनुभयो । त्यस्तै, धनुषा उपमहानगरपालिकासँग पनि भगिनीसम्बन्ध कायम गर्न पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
हरिसिद्धि नाचका लागि देवगण २९ जनालगायत सय जनाको टोली आउनेछ । यसका लागि १५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । केही रकम नगरपालिकाले र केही रकम दोलखाली बुद्धिजीवी, समाजसेवीबाट सङ्कलन गरिने भद्र सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।
दोलखामा यो नाच कहिलेदेखि सुरु भयो र के कारणले कहिलेबाट बन्द भएनेको यकिन हुन सकेको छैन । अमेरिकन नागरिक लिन्डोले दोलखाको संस्कृति अनुसन्धान गर्ने क्रममा करिब ८४ वर्षदेखि बन्द भएको उल्लेख गर्नुभएको छ ।
लन्डोको अनुसन्धान बाहिर आएपछि यसको खोज सुरु हुन लागेको छ भने नाचको सुरुवात पनि हुन लागेको हो । ललित संस्कृति अभियन्ता किर्तन जोशी र राजेश बज्राचार्य, अधिवक्ता राजेश महर्जनबाट यसको खोज सुरु भएको छ ।
दोलखाको अस्तित्व काठमाडौंभन्दा पुरानो हो । अनुसन्धान हुनुपर्ने दोलखाली संस्कृति अभियन्ता शान्तकृष्ण श्रेष्ठ भन्नुहुन्छ । दोलखाको अस्तित्व काठमाडौंभन्दा पुरानो हो भन्ने हरिसिद्धिको नाचले प्रमाणित गर्ने दस्ताबेज हुन क्ने उहाँकाे दाबी छ ।