विजयकुमार साह
ढल्केबर, फागुन १९ गते । मिथिलाञ्चलमा प्रसिद्ध मिथिला मध्यमा परिक्रमा बिहीबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुण शुक्लपक्ष प्रतिपदाका दिनदेखि मिथिला मध्यमा परिक्रममा सुरु हुने गर्छ ।
मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्य परिक्रमा धनुषाको कचुरीबाट बिहीबारदेखि सुरु भएको हो । औंसीदेखि सुरु हुने परिक्रमण फागु पूर्णिमासम्म चल्ने गर्छ ।
मिथिला मध्यमा परिक्रमामा धनुषा र महोत्तरीमा १०७ किलोमिटर, भारत विहार प्रान्तको सीमावर्ती क्षेत्रमा २६ किलोमिटर गरी १३३ किलोमिटर भूभागको साधुसन्तलगायत श्रद्धालु भक्तजनको पैदल यात्रा गर्ने परम्परा छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र किर्तनसहित मिथिलामध्यमा परिक्रमाका लागि डोला उठेको मन्दिरका महन्थ रामनरेश दासले जानकारी दिनुभयो ।
आजदेखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याउने परम्परा छ । यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ भएको मानिन्छ ।
बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ । तर, विभिन्न कारणले गर्दा मध्य परिक्रमामा रुचि राख्नेको सङ्ख्या अहिले पनि उल्लेख्य छ । १५ दिने माध्यमिकी परिक्रमलाई मध्यमा परिक्रमा पनि भनिन्छ ।
१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोसे अन्तर गृह परिक्रमा गरी समाप्त हुन्छ ।
नेपाल–भारतका लागि सामाजिक तथा सद्भावको प्रतिक
नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतिक बनेको माध्यमिकी परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास रपाइन्छ ।
मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सीतामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्नस्थलबाट प्रतिनिधिमूलक उपस्थित साधुुसन्तको रहने गरेको छ ।
महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने यस धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगि होली खेलेर फागुनपूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधुसन्तहरूको दाबी छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर चिनिने गरिन्छ ।
मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।
बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि परिक्रमा फागुन महिनामै हुने परम्परा छ ।