भोटराज राई
उदयपुर, फागुन १९ गते । ग्याल्पो ल्होसारको अवसरमा आज उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बुद्धको मूर्ति स्थापना गरी अनावरण गरिएको छ । सबै जाति, धर्म र समुदायको धार्मिक आस्थाको सम्मान राख्दै आएको पालिकाले बौद्ध धर्मावलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्धमूर्ति स्थापना गरी अनावरण गरेको हो । शेर्पा समुदायको बाहुल्य बस्ती रहेको पालिका–३ नगरे गाउँमा करिब पाँच फिट ठूलो बुद्धमूर्ति स्तम्भमा राखेर अनावरण गरिएको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिनुभयो ।
ल्होसारको विशेष कार्यक्रमसँगै पालिका अध्यक्ष मेजरकुमार राईले बुद्धमूर्तिको अनावरण गर्नुभएको हो । लिम्चुङबुङले सबै समुदायको भावनालाई सम्मान गर्दै यस्ता कामहरु गर्दै आएको अध्यक्ष राईले बताउनुभयो । उहाँले कृषि र पर्यटनमा जोड दिँदै आएको पालिकालाई नगरेमा स्थापना बुद्धमूर्तिले पर्यटन प्रवर्धनमा ठूलो टेवा पर्याउने विश्वास व्यक्त गर्नुभयो । नगरे गाउँ नजिकै ७२ फिट अग्लो लिम्चुङबुङ एभरेष्ट भ्यू–टावर १ नं. प्रदेशकै आकर्षक केन्द्र बनाउने उद्देश्यले निर्माण भइरहेको छ ।
नगरे गाउँ शेर्पा होमस्टे गाउँको परिकल्पना गरी त्यसको अभ्यास थालिएको ठाउँ हो । “पर्यटकहरुले होमस्टेमा बसेसँगै बुद्धको दर्शन गर्ने छन् र लिम्चुङबुङ एभरेष्ट भ्यू टावरबाट हिमालको दृश्यवलोकन गर्ने छन् ।” पालिका अध्यक्ष राईले भन्नुभयो, “लिम्चुङबुङमा पर्यटकीय पूर्वाधार तथा संरचनाहरु दिगो र दुरगामी फाइदाका लागि निर्माण भइरहेका छन् ।”
सुनसरीबाट गतवर्ष पालिकामा ल्याइएको बुद्धमूर्ति र सो राख्ने स्तम्भ पालिकाको लगानीमा निर्माण गरिएको हो भने आवश्यक जनश्रमदान स्थानीय गाउँलेहरुले गरेको समुदायका अगुवा गञ्जु शेर्पाले बताउनुभयो । बुद्धमूर्ति स्थापनाले गाउँ नै उज्यालो भएको उहाँले बताउनुभयो । “गाउँ हामीले गर्व गर्न लायक बनेको छ ।” उहाँले भन्नुभयो, “हामीलाई गाउँमै बसेर विकासमा अघि बढ्ने उर्जा मिलेको छ ।”
पालिकाको सहयोग तथा नेपाल शेर्पा संघ, लिम्चुङबुङ–३ नगरेको आयोजनामा २१४९ औं छ्यू फो ताक ल्हो ग्याल्पो ल्होसारको भव्य आयोजनासँगै बुद्धमूर्ति स्थापना गरिएको हो ।