logo
२०८१ बैशाख १७ सोमवार



कच्ची सडकमा अट्टो सञ्चालनले दुर्घटनाको जोखिम बढ्यो

खुला |
प्रदेश |


कच्ची सडकमा अट्टो सञ्चालनले दुर्घटनाको जोखिम बढ्यो
फुङ्लिङ नगरपालिकाको एक कच्ची सडकमा चलाइएको अट्टो रिक्सा ।



चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २० गते । हिमाली जिल्ला ताप्लेजुङमा कच्ची सडकमा अट्टो रिक्सा सञ्चालनले दुर्घटनाको जोखिम बढेको छ । कच्ची सडकहमा जथाभावी तीनपाङ्ग्रे अट्टो रिक्सा चलाउन थालिएकाले सडक दुर्घटनाको जोखिम बढेको हो ।

सदरमुकाम फुङ्लिङ बजारबाहेक ग्रामीण क्षेत्रका कच्ची सडकहरुमा अट्टो रिक्सा चलाउन थालिएकाले दुर्घटनाको जोखिम बढ्दै गएको हो । सञ्चालन अनुमति लिएर कालोपत्रे सडकमा मात्र चलाउन पाउने व्यवस्था रहे पनि व्यवसायीले कच्ची सडकमा जथाभावी तीन पाङ्ग्रे अट्टो रिक्सा चलाउने गरेका छन् । हिजोआज मापदण्ड विपरीत अट्टो रिक्सा सञ्चालन हुँदै आए पनि नियमक निकायबाट बेवास्ता भएको पाइएको छ ।

कालोपत्रे नभएका कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु चढाएर अट्टो रिक्सा चलाउने गरिएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार चालकबाहेक चारदेखि छ जनासम्म यात्रु चढाएर व्यवसायीले अट्टो रिक्सा चलाउने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांस गोलाई (घुम्ती) भएको कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर अट्टो रिक्सा चलाउने गरिएकोले दुर्घटनाको बढी जोखिम छ ।

यता, ट्राफिक प्रहरीका अनुसार अधिकांश सवारी दुर्घटनाहरु कच्ची सडकका कारण हुने गरेका छन् । कच्ची सडकहरुमा तीब्र गति र अनियन्त्रित रुपमा सवारी साधन चलाउँदा ठूला–ठूला दुर्घटना हुने गर्दछन् । पछिल्लो समय ताप्लेजुङमा पनि सदरमुकामबाहेक कच्ची सडक रहेको आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, मेरिङ्देन गाउँपालिकाको खाम्लुङ दोभान, सान्थाक्रासम्म अट्टो रिक्सा पु¥याउने गरिएको छ ।

त्यस्तै मिक्वाखोला गाउँपालिकाको साँबा फुङ्फुङगे, पाथीभरा क्षेत्रको काफ्लेपाटी सडक खण्डमा पनि बेला–बेलामा अट्टो रिक्सा चलाउने गरिएको छ । सदरमुकाम बजार आसपासका क्षेत्र हाङ्देवा, फुरुम्बु, दोखु, फुङ्लिङको तल्लो भेग देउलिङ्गे, सेगुम्बा, तीनबरे, मेदिबुङ र दोखुको किराँतचौक, नाम्लेपाटी हुँदै नाङ्खोल्याङसम्मका कच्ची सडकमा अट्टो रिक्सा चलाउने गरिएको छ । हालसम्म मानवीय क्षति हुनेगरी दुर्घटना नभए पनि अट्टो रिक्साहरु धेरै दुर्घटनामा पर्ने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १८ वटा अट्टो रिक्सालाई कारबाही गरिएको छ । चालक अनुमतिपत्र (लाइसेन्स) बिना र क्षमताभन्दा बढी यात्रु बोक्ने अट्टो रिक्सालाई कारबाही गरिएको र उक्त कारबाहीबाट सात महिनाको अवधिमा १३ हजार रुपियाँ राजस्व असुल गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल जिल्लामा करिव ४५ वटा बढी अट्टो रिक्सा सञ्चालनमा आएका छन् ।

ताप्लेजुङमा दुई/तीन वर्ष अघिदेखि अट्टो रिक्सा सञ्चालन हुन थालेका हुन् । चार दर्जन बढी सङ्ख्यामा अट्टो रिक्सा सञ्चालन हुँदै आए पनि हालसम्म नौ वटा मात्र फुङ्लिङ नगरपालिकामा दर्ता भएका छन् । फुङ्लिङ नगरपालिकाका अनुसार पछिल्लो पटक अट्टो रिक्सा दर्ता प्रक्रियाका लागि २६ वटा निवेदन परेका छन् ।

नगरपालिकाले कालोपत्रे गरिएको सडक बहानन्दे–फुङ्लिङ बजार, फुङ्लिङबजार–सुकेटार खण्डका लागि सञ्चालन अनुमति दिने गरेको छ । उक्त कालोपत्रे भएको सडकमा अनुमति दिँदा एउटा अट्टो रिक्सालाई एकोहोरो सञ्चालनका लागि १० हजार रुपियाँ र दोहोरो सञ्चालन गर्न १३ हजार रुपियाँ राजस्व असुल गरेर दर्ता गर्ने गरिएको फुङ्लिङ नगरपालिकाले जनाएको छ ।

 जथाभावी अट्टो रिक्सा सञ्चालनसँगै व्यवसायीले भाडा पनि आफूखुसी लिने गरेका छन् । फुङ्लिङ नगरपालिकाले सुरुमा तोकेको भाडा दरभन्दा अहिले पाँचगुणा बढी भाडा लिने गरेका यात्रुले बताउने गरेका छन् । कच्ची सडकमा जथाभावी सञ्चालन हुँदै आएका अट्टो रिक्सा र मनपरी भाडाका विषयमा यात्रु तथा सेवाग्राहीको आलोचना र गुनासो आफूकहाँ आएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलले फुङ्लिङ नगरपालिका र व्यवसायीसँग समन्वय गरेर यात्रु भाडा तथा मापदण्डविपरीत सञ्चालनमा कडाइ गर्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?