logo
२०८१ बैशाख १४ शुक्रवार



ताँजाकोट गाउँपालिकाले छिमेकी सेवाग्राहीलाई एम्बुलेन्स सेवा दिने

खुला |
प्रदेश |


ताँजाकोट गाउँपालिकाले छिमेकी सेवाग्राहीलाई एम्बुलेन्स सेवा दिने
ताँजाकोटद्वारा सञ्चालनमा आएको एम्बुलेन्स । तस्बिर– राजन रावत, हुम्ला


राजन रावत
हुम्ला, फागुन २० गते । केही समय अगाडि आफ्नै एम्बुलेन्स सेवा सुचारु गरेको ताँजाकोट गाउँपालिकाले छिमेकी गाउँपालिकाका सेवाग्राहीलाई एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । सेवाभावका हिसावले न्यून आयश्रोत भएका सेवाग्राहीलाई सुविधा उपलब्ध गराउन गाउँपालिकाले सो कार्य गर्न लागेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले न्यून आय भएका जनताको सेवाका लागि गाउँपालिकाका एम्बुलेन्स सेवा छिमेकी गाउँपालिकाका जनताको लागि प्रदान गर्न थालिएको बताउनुभयो । सो गाउँपालिकाले एक सूचना जारी गरेर छिमेकी अदानचुली, सर्केगार्ड, चंखेली र मुगु जिल्लाको सोरु गाउँपालिकाका सेवाग्राहीहरुलाई एम्बुलेन्स सेवा उपलब्ध गराउन सकिने जनाएको छ । उक्त सेवा छिमेकी गाउँपालिकाले शुक्रबारबाटै लिन सक्ने भएका छन् ।

यी छिमेकी गाउँपालिकाका जो कोही बिरामी भरे गाउँपालिकामा सम्पर्क गरेर सेवा लिन सकिने गाउँपलिकाले जनाएको छ । यद्यपि गाउँपालिकाले पहिलो प्राथमिकता भने ताँजाकोटका सेवाग्राही रहने जनाएको छ । उहाँले हाल यी छिमेकी गाउँपालिकाका सेवाग्राही बिरामी हुँदा तीस हजारभन्दा बढी रुपियाँ खर्च गरेर निजी गाडी रिजर्भ गरेर सेवा लिँदै आएको कारण गाउँपालिकाले एम्बुलेन्स सेवा दिने निर्णय गरेको बताउनुभयो ।

एम्बुलेन्स सेवा निःशुल्क भए पनि इन्धनको व्यवस्था भने बिरामीका आफन्तले गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । एम्बुलेन्स सेवा सम्बन्धित स्वास्थ्य चौकी देखि सुर्खेत र नेपालगञ्जसम्म लिन सकिने छ । ताँजाकोट गाउँपालिकाको यो सेवामूलक कार्यबाट गरिब तथा न्यून आयस्राेत भएका सर्वसाधारणलाई निक्कै राहत मिल्नेछ । हुम्ला ताँजाकोट गाउँपालिकाले पहिलो पटक प्रदेश सरकारको साझेदारीमा पहिलो पटक एम्बुलेन्स सेवा सुचारु गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?