logo
२०८१ बैशाख १३ बिहीवार



पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति   

खुला |
प्रदेश |


पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति   
फाइल फाेटाे



जलेश्वर, फागुन २१ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु. डेढ करोड बराबरको धनमाल क्षति भएको छ ।    
    
 स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु. २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।    
    
 सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु.डेढ करोड बराबरको धनमाल क्षति भएको उहाँको भनाइ थियो ।    
    
 मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?