logo
२०८१ बैशाख १७ सोमवार



ई–रिक्सा चलाएर मासिक ३० हजार बढी रुपियाँ आम्दानी

खुला |
प्रदेश |


ई–रिक्सा चलाएर मासिक ३० हजार बढी रुपियाँ आम्दानी


सिराज खान
नेपालगञ्ज, फागुन २२ गते । पछिल्लो समय बैट्री रिक्सा बाँके र बर्दियाका बेरोजगार महिला पुरुष दुबैका लागि रोजगारको राम्रो माध्यम बनेको छ । सयौं बेरोजगार युवा युवतीले अहिले नेपालगञ्ज, कोहलपुर, खजुरा, गुलरिया, बाँसगढी, भुरीगाउँ लगायतका क्षेत्रमा रिक्सा चलाएर राम्रो आम्दानी गरिरहनुभएको छ ।

रोजगारीका लागि इच्छाशक्ति र लगनशीलता भएमा महिलाले पनि पुरुषभन्दा राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ, कोहलपुर –१२, चप्परगौडीका ३३ वर्षीया सुशीला शर्मा । महिलाले पनि पुरुष सरह आम्दानी गर्न सक्छन् भन्ने प्रमाणित गरेको जनाउँदै रिक्सा चलाएर मासिक ३० हजार रुपियाँभन्दा बढी आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।

मजदुरी गर्ने पतिको आम्दानीले घरखर्च चलाउन धौं–धौं भएपछि आफुले पनि केही गर्नुपर्छ भन्ने सोचेर रिक्सा चलाउन थालेको जनाउँदै शुरुमा केही लाज लागेपनि अहिले आनन्द आइरहेको शर्माले बताउनुभयो । पतिको आम्दानीले नपुग्ने भएपछि भोकै बस्नुपरेको दुखेसो स्मरण गर्दै, अहिले घरखर्च चलाएर बचत समेत गर्नेगरेको उहाँको भनाइ छ ।

रिक्सा चलाउन लाज हुन्छ भनेर घरमै सीमित भएको भए, आज परिवारमा खुशियाली हुने थिएन उहाँले भन्नुभयो । श्रीमान् श्रीमती दुबै रोजगारीमा हुँदा दैनिक हुने आम्दानी पनि बढिरहेको उहाँले जानकारी दिनुभयो । ‘पहिला श्रीमानले मात्र कमाउनुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘आज म पनि राम्रो कमाउने भएको छुँ । दुवैजनाको जोड्दा राम्रो आम्दानी भैरहेको छ ।’

ठूलै लगानी भएमात्र स्वदेशमा व्यापार व्यवसाय गर्ने र सानो रकम हुँदा विदेश गएर रोजगारी गर्नुपर्छ भन्ने आम मान्यतालाई शर्मा र उहाँजस्तै धेरै युवायुवतीले चिर्नुभएको छ । शुरुमा भाडामा लिएर बैट्री रिक्सा चलाउनु भएकी उहाँले पछि किस्तामा रिक्सा किनेर सानै लगानीबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

सुशीलाले कोहलपुरमा ई–रिक्सा चलाउनुहुन्छ । उहाँसँगै कोहलपुरमा दर्जनौं ई–रिक्सा छन् । सबैले राम्रो आम्दानी गरिरहेको बताएका छन् । हरेकले दैनिक दुई हजारदेखि दुई हजार पाँचसय रुपियाँसम्म कमाइरहेको बताउनुभएको छ । अहिले बाँके र बर्दियामा मात्र १५ हजारभन्दा बढी बैट्री रिक्सा सञ्चालनमा रहेका छन् । १५ हजार जनाले रोजगारी पाएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?