logo
२०८१ बैशाख २६ बुधवार



लालपूर्जा नहुँदा स्थानीयलाई सास्ती

खुला |
प्रदेश |


लालपूर्जा नहुँदा स्थानीयलाई सास्ती
फाइल तस्विर


गोकर्ण पौडेल
तुलसीपुर, फागुन २२ गते । तुलसीपुर उपमहानगरपालिका १९ भित्री स्यालापानीमा बसोबास गर्दैआएका अधिकांश बासिन्दाको जहाँ बास छ त्यसको पूर्जा छैन । बसोबास गर्दैआएको जग्गाको मालपोत तिर्दैआएको छ । जग्गा नम्बरी भए पनि २०२७ सालमा नापीकाक्रममा कर्मचारीको प्राविधिक त्रुटिका कारण स्थानीयबासीले सास्ती पाइरहेको बताएका छन् ।

जमविवि ९ ढ र ठ को नक्साङ्कन गरिएको ३५ घरधुरी बसोबास गर्दैआएको जग्गामा सो समस्या देखिएको हो । साविक बिजौरी गाविस पञ्चायत वडा ९ का अध्यक्ष नन्दराम रोकाका अनुसार त्यतिबेला औलो रोगका कारण खेतीपातिका लागि मात्रै त्यहाँ आउने जग्गाधनीले जग्गा नाप नक्साङ्कन भएको एक वर्षपछि जानकारी पाएको बताउनुभयो ।

जग्गा समस्याबारेमा जानकारी गराउँदा तत्कालीन समयमा सच्याउने अवधि ६ महिना पूरा भइसकेकाले अवसर नै नपाएका कारण अहिले सास्ती भोग्नुपरेको बताउनुभयो । रोकाले भन्नुभयो ‘हामीले धेरै प्रयास ग¥यौं, सच्याउन मालपोत कार्यालयमा समेत गयौंं, तर समाधान भएन, अहिले जग्गा बिक्री गर्न समस्या भएको छ ।’

जग्गा विवाद समाधानका लागि पहलकदमी लिइरहेका संवाद समूहका संवाद सहजकर्ता सुशील बस्नेतका अनुसार १० बिघा जग्गामा त्यस्तो समस्या देखिएको छ । पछिल्लो समयमा त्यस क्षेत्र हुँदै छिल्लीकोट सडक मार्ग कालोपत्रे हुन थालेपछि जग्गाधनीहरु समेत चासो व्यक्त गर्न थालेका छन् ।

बस्नेतका अनुसार २०२७ सालदेखि नै जग्गा चर्चिरहेको अवस्थामा ती बसोबासीको पूर्जामा थोरै र फिल्डमा धेरै जग्गा भएका कारण विवाद समाधानमा थप चुनौती थपिएको छ । बस्नेतले भन्नुभयो ‘३५ घरधुरीमध्ये सात घरधुरीको समस्या जटिल भएका कारण अन्य घरधुरीवालाको जग्गाको विषयमा समाधान गर्न समस्या छ ।’

दुर्गाकुमारी रोका बसोबास गर्दैआउनुभएको जग्गा १० कठ्ठा छ तर उहाँको पूर्जामा ४ कठ्ठा जग्गा मात्रै छ । रोकाले भन्नुभयो ‘हामी वर्षौदेखि यहाँ बसिरहेका छौँ, घरबास यही नै छ कसरी भत्काएर अन्यत्र जान सकिन्छ र ! राज्यले गल्ती गर्ने हामीले सजाय भोग्ने पनि हुन्छ र ? ।’

३५ घरधुरीको जग्गा ३ कठ्ठादेखि १७ कठ्ठासम्म छ । कतिपय स्थानीयले जहाँ पूर्जा छ त्यहीको जग्गा लिएर विवाद समाधान गरिसकेको बताएका छन् । स्थानीय पूर्णबहादुर बुढाथोकीले भन्नुभयो ‘यस्तै समस्या थियो मेरो नामको जग्गा जहाँ थियो त्यो मैले लिएँ, जहाँ बसेको थिएँ त्यो जसको थियो उसैलाई दिएर समाधान गरे ।’ उहाँमा समस्या देखिएन किनकि जग्गा लिने र दिने दुवैको बराबर जग्गा थियो उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?