logo
२०८१ बैशाख १८ मंगलवार



बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द रहने

खुला |
प्रदेश |


बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द रहने


अमृतप्रसाद पौडेल
बेनी, फागुन २२ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक सञ्जाल बेनी–जोमसोम सडकखण्ड फागुन २३ गतेदेखि चैत १५ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुनेभएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार पहिलो चरणमा बन्द गरेर काम गर्दा तीनसय मिटर सडक बिस्तार गरिएको र बाँकी छसय मिटर सडक फराकिलो गर्न यस पटक सडक बन्द गर्न लागिएको हो ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गतको बेनी–जोमसोम खण्डको मुस्ताङको थासाङ गाउँपालिकाको काभ्रेभिर एवम् घोप्टेभिर क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर सडक बिस्तार गर्न दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । प्रजिअ शर्माका अनुसार दैनिक बिहान ९ देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सडक बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालद्वारा हस्ताक्षरित सुचना प्रकाशन गरेर प्रशासनले सडक बन्दको जानकारी गराएको छ ।

विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान काट्न पर्ने भएकाले जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार यसअघि फागुन १ देखि १५ सम्म दैनिक चार घण्टा बन्द गरिएको सो सडक अहिले दोस्रो चरणमा दैनिक पाँच घण्टाका दरले बन्द गरेर सडक बिस्तारको काम गरिने सूचना जारी गरिएको छ ।

राष्ट्रिय महत्वको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत क्षेत्रमा सडक बिस्तारका लागि अहिले पनि काम भइरहेकाले सो क्षेत्रमा सडक बन्द हुनेछ । यात्रा गर्दा यात्रुलाई पनि असहज हुने र काम पनि राम्रोसँग गर्न नपाएको हुँदा सडक बन्द गरेर काम अगाडि बढाउने निर्णय भएको सहायक प्रजिअ ढकालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?