माला कर्ण
कल्याणपुर, फागुन २२ गते । आँपमा मजुरा लाग्न सुरु भएपछि व्यापारीबाट बगैचा चहार्ने र खरिद गर्नेक्रम सुरु भएको छ । सप्तरीका विभिन्न आँप बगैचामा मजुरा किन्न व्यापारीहरु चहार्ने गरेका छन् । मञ्जरले भविष्यमा उत्पादन हुने आँप अनुमानको भरमा मजुरा खरिदबिक्रीको चटारो भएको स्थानीय कृषकले बताएका छन् ।
आँप राजधानीको रुपमा परिचित सप्तरीको बगैचामा भएको आँपको बोट र त्यसमा लागेको मञ्जरको भरमा भविष्यमा दिन सक्ने आँपको आधारमा मोलतोल गरेर मौखिक रुपमा मञ्जर खरिदबिक्री भइरहेको स्थानीय कृषकले बताउनुभएको छ । सप्तरीसहित सिरहा, धनुषा, सुनसरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा मञ्जर खरिदबिक्रीको काम भइरहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष आँपमा बढी मात्रामा मञ्जर लागेकाले व्यापारीलाई आँपमा लागेको मञ्जरको बोट ठूलो मात्रामा पाउन सजिलो भएकोे सप्तरीको खडक नगरपालिका ६ कल्याणपुरका व्यापारी कलामुद्दीनले जानकारी दिनुभयो । गतवर्ष तीनवटा आँपको बँगैचा खरिद गर्नुभएको उहाँले आँप फालाफाल भएको भएपनि कालो हुने र भित्र विग्रीने रोगका कारण समस्या आएको बताउनुभयो । यसवर्ष एउटा बगैचा खरिद गरिसकेको र अरु बँगैचाहरु हेरिरहेको उहाँको भनाई छ ।
यस वर्ष मञ्जर धैरै लागेकाले अहिलेदेखि किटनासक औषधी छरेर स्याहार गरेमा मात्र राम्रो फल दिने उहाँले बताउनुभयो । मैले अहिले नै मन्जर खरिद गरिरहेको छु । आँपमा टिकुला लागेपछि मञ्जरभन्दा बढी मूल्य तिर्नुपर्ने हुँदा अहिले नै खरिद गरिएको उहाँले बताउनुभयो ।
मञ्जर लागेको ठूला बगैचाको रेखदेख हेरचाह आफैले गर्न नसकिने र मजदुर पनि नपाइने गरेकाले फल भगवान भरोसामा साप्रिने गरेको हुँदा मञ्जर नै बेच्नेगरेको कृषक सहंसा आलमले बताउनुभयो । आँप व्यापारीले मञ्जर खरिद गरिसकेपछि दिनरात बगैचामा समय बिताएर फल सपार्नेतिर ध्यान दिनेगरेको उहाँले बताउनुभयो ।
कृषि विज्ञान केन्द्र राजविराजको तथ्यांकअनुसार सप्तरीमा कूल आँप बोटको ६० प्रतिशत मालदह रहेको छ । कलकतिया २० प्रतिशत, बम्बई १५ प्रतिशत र अन्य जातका पाँच प्रतिशत आँपका बोट रहेको छ । जिल्लाको प्रत्येक ग्रामीण वस्तिमा आँपको बोट धेरै रहे पनि उत्तरी भाँवर क्षेत्रको भंगहा, धरमपुर, रुपनगर, घोघनपुर, जगतपुर, कंचनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना, कठौना आँप खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लामा पाँच हजार ४५० हेक्टर जग्गामा करिब दश लाख आँपको बोट रहेको बताइएको छ ।