logo
२०८१ बैशाख १३ बिहीवार



बागलुङमा विद्युतीय राहदानी वितरणको काम शुरु

खुला |
प्रदेश |


बागलुङमा विद्युतीय राहदानी वितरणको काम शुरु


नवीन शिशिर विक
बागलुङ, फागुन २२ गते । बागलुङमा पहिलो पटक विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणको काम शुरु भएको छ । सरकारले मेशिन रिडेवल पासपोर्ट (एमआरपी) विस्थापित व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागु गरेपछि पहिलो पटक आइतबारदेखि जिल्लाबाट विद्युतीय राहदानी वितरण सुरु गरिएको हो ।

जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फारम संकलन सुरु गरेको थियो । पासपोर्ट फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्युनतम एक महिनाको समय लाग्नेगरेको स्थानीयको भनाई छ । ई–पासपोर्ट १५ दिनमै तयार हुने र प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालय भित्र नै लिने गरेको प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो । उहाँकाअनुसार अनलाईनमार्फत फाराम भर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि मंसिर १ गतेदेखि एमआरपी फाराम संकलन बन्द गरेको थियो । एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टले काम गर्छ । प्रशासनले दैनिक दशवटा फाराम लिने गरेको जनाएको छ । नयाँ प्रविधि भएको हुँदा त्रुटीरहित सेवाको लागि सेवालाई सीमित गरिएको राहदानी शाखाका नायव सुब्बा तेजराज गौतमले बताउनुभयो ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सबै विवरण हुनेगरी तयार पारिएको छ । चिपमा औँठाछाप, तस्विर लगायतका व्यक्तिगत वितरण समावेश गरिएको छ । सुरक्षाको दृष्टिले पनि यो राहदानी पक्का हुन्छ । राहदानीमा समावेश विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबद गर्न सक्दैनन् ।

राहदानीको १२ हजार रुपियाँ दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीका लागि पाँच हजार र ६६ पृष्ठको राहदानीलाई दश हजार राजश्व लाग्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाई छ । हराएको, च्यातिएको र १० बर्षभन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?