logo
२०८१ बैशाख ७ शुक्रवार



पनौतीका किसानलाई लैनो गाई वितरण

खुला |
प्रदेश |


पनौतीका किसानलाई लैनो गाई वितरण


मधुसुधन तिमल्सिना
काभ्रे, फागुन २२ गते । काभ्रेको पनौती नगरपालिकाले किसानलाई लैनो गाई वितरण गरेको छ । वडा ३ कुशादेवीका १० किसानलाई लागत साझेदारीमा आइतबार लैनो गाई वितरण गरिएको हो । गाई भैसी साना व्यवसाय उत्पादन पकेटक्षेत्र विकास कार्यक्रम अन्तर्गत नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बन्जाराले किसानलाई लैनो गाई वितरण गर्नुभएको हो । सङघीय सरकार, किसान र नगरपालिकाको साझेदारीमा पनौतीका किसानलाई लैनो गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

पनौती नगर कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले लागत साझेदारी अन्तर्गत किसानको ४० प्रतिशत, सङघ र नगरको ६० प्रतिशत लागतमा गाई वितरण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार यस आर्थिक बर्षमा ५८ लाख रुपियाँमा ६० वटा लैनो गाई नगरले वितरण गर्नेछ । आर्थिक बर्ष २०७७–७८ मा ३३ लाख रुपियाँमा ४० लैनो गाई नगरले वितरण गरेको थियो । १२ वडा रहेको पनौतीले वडा ३, ८ र १० कृषकलाई गाई पकेटक्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगर प्रमुख न्यौपानेले किसानको जीवनस्तर उकास्न पाडी वितरण, लैनो गाई वितरण, बोयर जातका बोका वितरण, तरकारी खेतीकालागि टनेल लगायतका सामग्रीले नगरले अनुदानमा उपलब्ध गराउँदैआएको बताउनुभयो । उपप्रमुख बन्जाराले नगरले कृषि र पशुपन्छीलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुभयो ।

वडा ३ का अध्यक्ष किशोर थापाले वडा ३ मा यसबर्ष २४ वटा लैनो गाई वितरण गर्ने बताउनुहुँदै अघिल्लो बर्ष १६ वटा लैनो गाई वितरण गरिसकेको जानकारी दिनुभयो । नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले किसानलाई व्यावसायिक बनाएर जीविकोपार्जनमा सहजता ल्याउन लैनो गाई वितरण गरेको बताउनुभयो ।

नगरले वितरण गरेको गाईले दैनिक कम्तिमा आठ लिटर दुध दिनुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै गाईको बीमा, औषधी उपचार, घाँसको बीउ लगायतमा नगरले सहयोग गर्ने सम्झौता गरिएको छ । लागत साझेदारीमा पाएका लैनो गाई नगरको स्वीकृत बिना बेचबिखन गर्न नपाउने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?