logo
२०८१ बैशाख १५ शनिवार



अस्पतालबाट उद्धार गरिएकाे भालु सुरक्षित वासस्थानमा छाडियो

खुला |
प्रदेश |


अस्पतालबाट उद्धार गरिएकाे भालु सुरक्षित वासस्थानमा छाडियो
सुरक्षित बासस्थानमा छोडिएको हिमाली कालो भालु । तस्बिर ः चन्द्र पन्दाक÷ताप्लेजुङ


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको भालुलाई सुरक्षित वासस्थानमा छोडिएको छ । नियन्त्रणमा रहेको पाँच दिनपछि डिभिजन वन कार्यालयले हिमाली कालो भालुलाई सुरक्षित वासस्थान (जङ्गल) मा छोडेको हो ।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख सहायक वन अधिकृत ललितकुमार यादवले नियन्त्रणमा रहेको भालुलाई सोमबार बिहान सबेरै सुरक्षित वासस्थानमा छोडिएको जानकारी दिनुभयो । सहायक वन अधिकृत यादवका अनुसार भालुलाई सुरक्षित वासस्थानका लागि जिल्लाकै एक जङ्गल (वन) मा पु¥याएर सकुशल छोडिएको छ ।
गएको बिहीबार राति उक्त भालु सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पतालमा प्रवेश गरेको थियो । जिल्ला अस्पतालको प्रसूति भवनमा अचानक पसेको सो भालुलाई प्रहरी र अस्पतालका कर्मचारीले प्रसूति कक्षकै एक कोठामा थुनिदिएका थिए ।
अस्पतालमा थुनिएको भालुलाई आइतबार मात्रै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीको उपस्थितिमा लठ्याउने (बेहोस बनाउने) सुई लगाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लगिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजाल नेतृत्वको टोलीले भालुलाई लठ्याएर अर्थात बेहोस बनाएको थियो । बेहोस बनाई फलामे खोरमा डिभिजन वन कार्यालयमा राखिएको भालुलाई चितवनबाट आएको प्राविधिक टोलीकोसमेत परामर्श लिएर सुरक्षित जङ्गलमा छोडिएको सहायक वन अधिकृत यादवले बताउनुभयो ।
वासस्थानमा छोड्नुअघि रिजाल नेतृत्वको प्राविधिक टोलीले पनि उक्त भालुको गतिविधि र व्यवहारबारे अध्ययन गरेको थियो । यस्तै जिल्ला अस्पतालमा थुनेर राखिएको समयमा पनि तीन दिनसम्म कञ्चनजङ्घा संक्षरण क्षेत्र कार्यालयका संरक्षण अधिकृत रमेशकुमार यादव लगायतबाट भालुको व्यवहारको निगरानी साथै अध्ययन भएको थियो ।
भालुको व्यवहारअनुसार उद्धारका लागि सुरक्षित वासस्थानमा छोड्नु नै उचित भएको संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक रिजालको भनाइ छ । उहाँले भालुको स्वास्थ्य अवस्थामा कुनै असर नभएको बताउनुभयो ।
यसरी छोडिएको वयस्क पोथी हिमाली कालो भालु हाे । भालुको तौल अन्दाजी ७० किलोग्राम र लम्बाई पाँच फिट लम्बाइ थियो । यता शहर बजारक्षेत्रमै भालु प्रवेश गरेपछि स्थानीय सर्वसाधारण  आतङ्कित बनेका थिए । तीन÷चार दिनसम्म निक्कै खैलाबैला भएको थियो भने दिनहुँ अस्पतालमा भालु हेर्नेको भीड लागेको थियो ।
उता पछिल्लो समय वन विनास तथा फडानीको क्रम बढेकाले वन्यजन्तुहरु तल्लो क्षेत्र वा बस्तीतिर पस्न थालेका हुनसक्ने बताइएको छ । त्यस्तै चोरी शिकारी कारण पनि वन्यजन्तुले ज्यान बचाउनलाई भाग्ने क्रममा अचानक बस्ती तथा बजार क्षेत्रसम्म आइपुगेको हुनसक्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यादवले बताउनुभयो ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?