logo
२०८१ बैशाख १४ शुक्रवार



विवादका कारण काँग्रेस सर्लाहीको निर्वाचन स्थगित

खुला |
राजनीति |
प्रदेश |


विवादका कारण काँग्रेस सर्लाहीको निर्वाचन स्थगित


जनार्जन खत्री
सर्लाही, फागुन २३ गते । नेपाली काँग्रेस सर्लाहीको सोमबारका लागि तय भएको निर्वाचन स्थगित भएको छ । पार्टीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको थियो । पार्टीको दुई समूहबीच विवाद भएपछि निर्वाचन समितिले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरेको जनाएको छ ।

निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले सोमबार दिउँसो १ बजे सूचना जारी गर्दै विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसक्ने अवस्था सिर्जना भएकाले हाललाई अर्को सूचना प्रकाशित नहुन्जेल निर्वाचन स्थगन गरिएको बताउनुभयो । स्रोतकाअनुसार निर्वाचन आचारसंहिता तय गर्ने विषयमा संस्थापन र संस्थापनइतर समूहबीच विवाद भएको सो दलका स्थानीय नेताहरुको भनाइ छ ।

मतदाता उपस्थित नभएमा इच्छाएको व्यक्ति वा अरु कसैले मत खसाल्ने भन्नेमा विवाद देखिएको छ । यस्तै मनोनयन दर्ता गर्दा जसले अगाडि दर्ता गराएको हो, उसैको नाम आगाडि हुनुपर्ने विषयमा पनि विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले हाल तयार पारेको मतपत्रमा संस्थापन पक्षको उम्मेदवारको नाम अगाडि छ ।

मतदान सुरु गराउने विषयमा मतदान अधिकृतसहित दुवै पक्षका नेताहरु चार घण्टाभन्दा बढी छलफलमा बसे पनि कुनै सहमति हुन नसकेको बताइएको छ । छलफलबाट सहमति हुन नसकेपछि निर्वाचन समितिले मतदान नै स्थगित भएको छ । छलफलकै क्रममा संस्थापन पक्षका नेता तथा प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंह र संस्थापन इतरका नेता तथा सर्लाही क्षेत्र ४ का सङ्घीय सांंसद डा. अमरेशकुमार सिंंहबीच विवाद भएको थियो ।

निर्वाचन स्थगित भएपछि कार्यकर्ताले सदरमुकाम मलङ्गवास्थित मतदान स्थलमा केहीबेर विरोध प्रदर्शन गरेका थिए । काँग्रेस सर्लाहीको सभापतिका लागि संस्थापन पक्षबाट बहालवाला जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?