logo
२०८१ बैशाख १३ बिहीवार



मोरङको वारङ्गीमा बिजुली बल्यो

खुला |
प्रदेश |


मोरङको वारङ्गीमा बिजुली बल्यो


हरिप्रसाद काइराला
उर्लाबारी, फागुन २३ गते । मोरङ जिल्ला भन्नासाथ औसत नेपालीले समथर भूगोल, फाँटिलो खेत र सुगम शहरको कल्पना गरिन्छ । तर उत्तरी मोरङको पहाडी गाउँ लेटाङ ७ वारङ्गीका धेरैजसो गाउँमा बिजुली पुगेको थिएन । अहिले त्यहाँ विजुली पुग्दा स्थानीय खुशी भएका छन् ।

सोमबार पहिलोपटक सो ठाउँमा विजुली पुगेकोे हो । वारङ्गीको वाराजी मन्दिर वरपरको गाउँमा लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले विधुत सेवा शुभारम्भ गर्नुभयो । गत दशैंंदेखि बिद्युत पुगे पनि मिटर जडान लगायतको काम सम्पन्न गरेर सोमबार सेवा शुभारम्भ गरिएको विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले बताउनुभयो । वाराजी मन्दिर छेउछाउका एकसय घरधुरीले बिजुली बालेपछि वारङ्गीको मुख्य बजारमा विकास पुगेको महुशस भएको स्थानीयले बताएका छन् ।

बिधुत सेवा शुभारम्भ गर्दै नगरप्रमुख राईले निर्वाचनताका आफुले गरेका प्रतिबद्धता पूरा हुँदैगएको बताउनुभयो । लेटाङमा बिकासको जग बसेको उहाँले दावी गर्नुभयो । सडक बिस्तार, अस्पताल निर्माणका काम भइरहेका छन् । नगरभित्रका सोल्टी, भुवा, मोरङ्गी खोलामा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
अब हिउँदमा मात्र होइन, वर्खायाममा पनि एउटा वडाबाट अर्को वडा जान खोलाको जोखिम मोल्नु पर्दैन उहाँले भन्नुभयो । लेटाङबाट पहाडि गाउँ वारङ्गी जाने सडकको मोड सुधार गरिसकेको उल्लेख गर्दै नगरप्रमुख राईले लेटाङलाई भुसको छानोमुक्त नगर घोषणा गर्ने तयारी भएको बताउनुभयो ।

जिल्लाकै सबैभन्दा कम बजेट पाउने नगरपालिका लेटाङ भएको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो, “खानेपानी घर–घरमा पुगिसकेको छ । विद्यालय सुविधा सम्पन्न बनेका छन् । अबको लक्ष्य शिक्षालाई गुणस्तरीय बनाउने हो ।” राज्य पुनरसंरचनापछि साविकको वारङ्गी गाविस लेटाङ नगरपालिका ७ कायम भएको छ । मोरङको नगरपालिका भएपनि पूर्वाधारका हिसावले कमजोर वडा ७ धिरिङ्वाका १७ घरधुरी, संगमटोलका १८ घरधुरी, कालीमाटीका २२ घरधुरी, चोक्टेका १९ घरधुरी, केराबारीका १६ घरधुरी र हात्तीखर्कका ४ घरधुरीमा अझै बिजुली पुगेको छैन् । नगरप्रमुख राईले बिधुत खपतबाट उठ्ने महसुलभन्दा त्यहाँसम्म पोल र तार बिस्तार गर्न धेरै खर्च लाग्ने बताउनुभयो ।

वडा ७ का वडाध्यक्ष नगेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा नगरकी उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत अच्युतप्र्रसाद दाहाल, नेपाल बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुख दीपक सापकोटा लगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?