logo
२०८१ बैशाख २६ बुधवार



दाङमा इतिहास चिनाउने धुपघडी

खुला |
प्रदेश |


दाङमा इतिहास चिनाउने धुपघडी


गोकर्ण पौडेल
तुलसीपुर, फागुन २४ । तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर शान्तिपार्कमा धुपघडी राखिएको छ । धुपघडी १८ इन्च वृत्ताकार रहेको छ । विज्ञान र प्रविधिका कारण समयका बारेमा जानकारी लिन नयाँ घडीको आविस्कार भएका छन् । हाम्रा पूर्खाले कसरी समयका बारेमा जानकारी लिन्थे भन्नेबारेमा जानकारी दिन त्यहाँ धुपघडी राखिएको छ ।

तुलसीपुर ७ का नवीन भण्डारी धुपघडीको बारेमा पहिलो पटक सुनेको बताउनुभयो । उहाँले धुपघडीको अवलोकन पनि गर्नुभयो । घडीमा ११ बजेर ३० मिनेट गएको थियो, धुपघडीमा समेत रोमन अङ्कमा ११ बजेर ३० मिनेटमै संकुको छाया परेको थियो । ‘ओहो हातको घडीसँग त ठ्याक्कै मिल्यो नि’ उहाँले भन्नुभयो । नवीन मात्र होइन, अहिलेका धेरै युवापुस्ता धुपघडीबारेमा जानकार छैनन् ।

तुलसीपुर उपमहानगरपालिका र नेपाल संस्कृत विश्व विद्यालयअन्तर्गत रहेको जनता विद्यापीठ बिजौरीको सहकार्यमा त्यहाँ धुपघडी राखिएको छ । त्यहाँ मात्र होइन, नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयको दाता स्मारिका स्तम्भ नजिकै धुपघडी राख्ने तयारी भइरहेको सहप्राध्यापक माधव अधिकारीले जानकारी दिनुभयो ।

शान्ति उद्यान समितिका अध्यक्ष डिल्लीराज भण्डारीले गौतमबुद्वको मूर्ति नजिकै राखिएको धुपघडीबारेमा प्रसारप्रचार गर्न नसकिएका कारण धेरैलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्राचीन घडी हो, हाम्रो आधुनिक घडीको समय गणेश हिमाललाई आधार मानेर समय यकिन गरिएको छ । तर धुपघडीको समय उत्तरी धुव्रलाई यकिन गरिएकाले तथ्यगत हुन्छ ।’ धुपघडीबाट सूर्योदय भइ सूर्यास्तसम्म समय थाहा पाउन सकिन्छ ।

सो धुपघडी तयार पार्न एक लाख रुपियाँ खर्च भएको निर्माणकर्ता सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिनुभयो । राज्यकोतर्फबाट तुलसीपुर उपमहानगपालिका र नेपाल संंस्कृत विश्वविद्यालय मात्रै चासो देखाएको देखिन्छ भनेँ नीजि क्षेत्रले सञ्चालनमा ल्याएको नवलपरासीमा रहेको शाश्वतधाममा १५ डायमिटरको धुपघडी बनाउन प्राविधिक सहयोगको माग गरिएको निर्माणकर्ता सहप्राध्यापक जयन्त आचार्यले बताउनुभयो ।

तामाको छायाँ विशेष प्रकारको ग्रेनाइटमा पार्नेगरी धुपघडी तयार पारिन्छ । सहप्राध्यापक आचार्यले ग्रेनाइटमा छायाँ परेपछि त्यस स्थानको समयबारेमा जानकारी पाइने बताउनुभयो ।


करिब एक सय १३ वर्षअघि काठमाडौमा रहेको त्रिचन्द्र कलेज नजिकैको घण्टाघर अगाडि धुपघडी राखिएको थियो । त्यो घडीले अहिले समय दिने अवस्थामा नरहेकाले यसबारेमा जानकार नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठका ज्योतिष विषयका सहप्राध्यापक आचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?