logo
२०८१ बैशाख ७ शुक्रवार



पर्यटक आकर्षित गर्न ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै

खुला |
प्रदेश |


पर्यटक आकर्षित गर्न ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै


सिराज खान
नेपालगञ्ज, फागुन २५ गते । पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै भारतीय पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्ने उद्देश्यकासाथ नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना गरिंने भएको छ । सो मार्टमा भारतका विभिन्न ठूला शहरबाट ५० भन्दा बढी पर्यटक व्यवसायी र नेपालका सातवटै प्रदेशबाट सोही संख्याका व्यवसायीको सहभागीता रहने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । फागुन २६ देखि २८ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने सो ट्राभल मार्टको तयारी पुरा भएको र भारतीय पर्यटन व्यवसायीहरु पुगिसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको मुल आयोजना, नाट्टा बाँकेको आयोजना तथा पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सह‐आयोजनामा सो मार्ट आयोजना गरिने बताइएको छ ।

मार्टमा पर्यटकीय गतिविधि सम्बन्धी स्टल राख्नु साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथिलाई यस क्षेत्रको पर्यटकीयस्थलको अवलोकन गराइने अध्यक्ष सिग्देलले बताउनुभयो । यसका लागि भारतबाट ५० जना पर्यटन ब्यवसायी नेपालगञ्ज पुगिसकेका छन् । सो मार्टमा नेपाल र भारतका गरी कुल १५० बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजकले जनाएको छ ।

पाहुनालाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थल र क्यासिनोको भ्रमण गराइने कार्यक्रम रहेको आयोजकले जनाएको छ । वेष्टर्न ट्राभल मार्टमा आउने अतिथिका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको अध्यक्ष सिग्देलले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रवन्धक गोविन्द ओलीले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । यो मार्टले भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्ने विश्वास अधिकांश पर्यटन व्यवसायीको रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?