logo
२०८१ बैशाख १३ बिहीवार



घोडाघोडीलाई ‘बर्ड सेन्चुरी’ घोषणा गरिदैं

खुला |
प्रदेश |


घोडाघोडीलाई ‘बर्ड सेन्चुरी’ घोषणा गरिदैं


अविनाश चौधरी
धनगढी, फागुन २५ गते । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरिदैंछ । चरा तथा प्राकृतिक बासस्थानको संरक्षण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यसाथ आउने शुक्रबार घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी घोषणा गर्न लागिएको हो ।

नेपालमा हालसम्म बर्ड सेन्चुरी एउटा पनि छैन । घोषणापछि घोडाघोडी सिमसार नेपालकै पहिलो बर्ड सेन्चुरी हुनेछ । घोडाघोडी सिमसारको छ हजारभन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बर्ड सेन्चुरी बनाउन लागिएको छ । ‘यो नेपालको पहिलो बर्ड सेन्चुरी हुनेछ’, बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले बताउनुभयो । ‘फागुन २७ गते घोडाघोडी ताल परिसरमा कार्यक्रम गरेर बर्ड सेन्चुरी घोषणा गर्ने तयारी गरेका छौं’ उहाँले भन्नुभयो ।

घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी घोषणा गर्ने निर्णय घोडाघोडी नगरपालिकाले गरेको थियो । सोही निर्णयअनुसार प्रदेश ऐनमा टेकेर घोडाघोडीलाई बर्ड सेन्चुरी बनाउन लागिएको छ । ‘घोषणापछि सबैभन्दा बढी जिम्मेवारी प्रदेश सरकारको रहन्छ’, उहाँले भन्नुभयो । ‘बर्ड सेन्चुरी बनेमा संरक्षणको कामले टेवा पाउनेछ’ उहाँले बताउनुभयो ।

घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडीसहित ठूलासाना गरेर २४ वटा ताल छन् । जम्मा १० हजार ५७० हेक्टर क्षेत्रफलमा घोडाघोडी सिमसार क्षेत्र फैलिएको छ । तर यसको सबै क्षेत्रलाई नभई छ हजारभन्दा बढी हेक्टर क्षेत्रलाई समेटेर बर्ड सेन्चुरी बनाउन लागिएको छ ।

बर्ड सेन्चुरी बनेमा पर्यटन विकासमा पनि टेवा पुग्ने बोर्डका कार्यकारी उपाध्यक्ष चौधरीले बताउनुभयो । ‘संरक्षण र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बर्ड सेन्चुरी बनाउन लागिएको छ’, उहाँले भन्नुभयो ।

घोडाघोडी सिमसारमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुँडीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन् । सिमसारमा ६४ प्रकारका जलपन्छी पाइने गरेको बताइन्छ ।

मानवीय हस्तक्षेपका कारण घोडाघोडी सिमसारमा चराको प्राकृतिक बासस्थान बिगँ्रदो क्रममा रहेको छ । प्रसिद्ध घोडाघोडी तालक्षेत्र वरिपरि प्लाष्टिकजन्य वस्तु फाल्नेसहित फोहोरमैला गर्ने कार्य बढ्दो छ । बर्ड सेन्चुरी बनाइएमा कम्तीमा घोडाघोडी क्षेत्रमा भइरहेको प्रदुषण कम हुने विश्वास संरक्षणकर्मीको छ ।

बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको संरक्षण हुने चौधरीले बताउनुभयो । ‘संरक्षण र पर्यापर्यटनलाई संगसंगै अगाडि बढाउने उद्देश्यसाथ यो गौरवको विषय अगाडि बढाइएको हो, उहाँले भन्नुभयो । चौधरीकाअनुसार बर्ड सेन्चुरी यस प्रदेशको एउटा ब्राण्ड हुनेछ ।

प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पदयात्रा गर्न महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?