logo
२०८१ बैशाख १४ शुक्रवार



आगलागीबाट ७ करोड १० लाख रुपियाँ बराबरको क्षति

खुला |
प्रदेश |


आगलागीबाट ७ करोड १० लाख रुपियाँ बराबरको क्षति


अमरराज नहर्की
तनहुँ, फागुन २५ गते । तनहुँको सदरमुकाम दमौलीको मेनचोकमा आईतबार भएको आगलागीबाट ७ करोड १० लाख रुपियाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थलगत निरीक्षण र पीडितसँग मागिएको विवरणअनुसार सो रकम बराबरको नोक्सान भएको अनुमान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

निमित्त प्रजिअ गैह्रेका अनुसार भूपाल आलेको ७ करोड रुपियाँ, ज्योतिकुमार श्रेष्ठको २ करोड ५० लाख, बलराम रानाको १२ लाख, कृष्णबहादुर थापाको १ लाख ५० हजार रुपियाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यसैगरी होमबहादुर गुरुङको ८० लाख, राममाया गुरुङको १ करोड १० लाख, लालबहादुर गुरुङको ४० लाख, लिलबहादुर वि.क.ले ८ लाख, नवीन गुरुङको ६ लाख रुपियाँ, दीपककुमार श्रेष्ठको ३ लाख रुपियाँ र वीरदेव धमेलको ६० हजार रुपियाँ बरावरको क्षति भएको अनुमान गरिएको छ ।

क्षतिको विवरण सङ्कलनका लागि प्रशासन, उद्योग वाणिज्य सङ्घ र नगरपालिकाको प्रतिनिधिको बैठकले नगरपालिकाका इन्जिनियर अमृत के.सी.को संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रतिनिधि प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ बजार इकाई प्रतिनिधि माधव न्यौपाने हुुनुहुन्छ ।

समितिलाई तीन दिनभित्र वास्तविक क्षतिको विवरण पेश गर्न भनिएको निमित्त प्रजिअ गैह्रेले जानकारी दिनुभयो । आईतबार १० वजे भुपाल हार्डवेयबाट सुरु भएको आगो फैलिएर एक दर्जन घर तथा टहरामा फैलिएको थियो । दमकलले मात्रै आगो नियन्त्रणमा नआएपछि पानी बोक्ने हेलिकप्टरको प्रयोग गरी आगो निभाइएको थियो । आगलागी भएको पाँच घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?