logo
२०८१ मंसिर १० सोमवार



खानेपानी आयोजनामा ठेकेदारले लापरबाही गरेको गुनासो

खुला |
प्रदेश |


खानेपानी आयोजनामा ठेकेदारले लापरबाही गरेको गुनासो


बाबुराम शर्मा
चरीकोट, फागुन २५ गते । दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजनामा निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीले गुणस्तरहीन काम र सामग्री प्रयोग गरिरहेको स्थानीयले गुनासो गरेका छन् ।

चरम लापरबाहीले कमसल सामग्रीको प्रयोग गर्नुकासाथै गुणस्तरहीन काम गरी उपभोक्तामाथि अन्याय गरेको स्थानीयको गुनासो छ । यसबारे सम्बन्धित निकायलाई जानकारी दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीयहरुको गुनासो छ ।

आयोजनामा गुणस्तरहीन सामग्रीको प्रयोग गर्नुकासाथै निर्माण पनि कमसल भइरहेको छ । स्थानीय नारायणभक्त श्रेष्ठले भन्नुभयो, “पानीट्याङकीलगायत निर्माण साहैै दयनीय छ । फिल्टर ट्याङकी अहिले नै फुटिसकेको छ । टालटुल पारेर हस्तान्तरण गर्न आँतुर देखिएका छन् । पाइपलाइन कम गहिराई खनिएको छ भने पाइप पनि पातलो बिछ्याइएको स्थानीयले बताएका छन् ।

उपभोक्तामाथिको लापरबाही सच्याउन बेलैमा नलागे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने स्थानीयको भनाई छ । अहिलेसम्म भएको मुहानदेखि चरीकोट बजारसम्मको निर्माण कामहरु सन्तोषजनक नरहेको बताइएको छ । आयोजना निर्माण स्थलकै भीमेश्वर नगरपालिका ६ का वडा अध्यक्ष नवीन लामाले भन्नुभयो, “समय समयमा गुनासो गर्दा पनि सुनुवाइ हुँदैन । गुणस्तरहीन काम हुनुमा आयोजना, परामर्शदाता र ठेकदारको माथिसम्म मिलोमतो भएको देखिन्छ । कसैलाई टेरपुच्छर लाउँदैनन् ।”

“लापरबाही पनि हुँदैभएको छ । निर्माण सम्पन्न नहुँदै फिल्टर ट्याङकी फुटेको छ । पाइप ९० सेन्टिमिटर तल गाडिनुपर्नेमा अधिकांश स्थानमा माथि नै देखिएको छ । सजिलोका लागि आवश्यक नै नभएका ठाउँमा पाइप राखिएको छ” एक स्थानीयले भन्नुभयो । आयोजना प्रमुख पुष्कल सुवेदीले काम राम्रो भएको दावी गर्नुभयो । “निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण व्यवसायीले मर्मत गर्छ । अहिले आँत्ति हाल्नु पर्ने स्थिति छैन” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?