logo
२०८१ बैशाख ८ शनिवार



बालिकाको शिक्षामा पहुँच बढाउन विपन्नलाई ग्याँस सिलिण्डर वितरण

खुला |
प्रदेश |


बालिकाको शिक्षामा पहुँच बढाउन विपन्नलाई ग्याँस सिलिण्डर वितरण


नारद कोहार
तौलिहवा, फागुन २५ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका १२ ले बालिकाको शिक्षामा पहुँच बढाउन वडाभित्रका चारसय ४७ विपन्न महिलालाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको छ । निमाविदेखि माथि अध्ययन गरिरहेको बालिकाका विपन्न, अपाङ्ग, एकल महिला र ज्येष्ठ नागरिकलाई सो सिलिण्डर हस्तान्तरण गरिएको हो ।

नगरपालिकाको वडा १२ विठुवामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, वडाध्यक्ष ओमप्रकाश पाण्डेयले सिलिण्डर हस्तान्तरण गर्नुभयो । विपन्न महिलालाई यति धेरै संख्यामा सिलिण्डर उपलब्ध गराइएको जिल्लाकै पहिलो र नमुना काम रहेको वडाले दाबी गरेको छ ।

बालिकाको शिक्षामा थप टेवा पुग्न वडाले नमुना काम गरेको प्रतिनिधिसभा सदस्य गुप्ताले बताउनुभयो । उहाँले संबिधानमा नारीलाई पर्याप्त अधिकार दिइएपनि क्षमता नहुँदा सो अधिकारको समेत सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो ।

खाना पकाउँदा गुुइँठा र दाउराको प्रयोग गरिंदा स्वास्थ्यमा असर परिरहेकाबेला बालिका शिक्षाको विकासका लागि गरिएको यो काम सराहनीय रहेको प्रदेशसभा सदस्य श्रीवास्तवले बताउनुभयो । खाना पकाउन ग्याँसको प्रयोग गरिएकोमा धुवाँबाट बचेमा महिला स्वास्थ्यमा सुधार आउने उहाँले बताउनुभयो ।

वडाका एक गाउँको अनुमगमन जानेक्रममा सुेकेको पातले एक महिलाले खाना पकाएको देखेपछि त्यही बेलादेखि बिपन्न महिलालाई ग्याँस सिलिन्डर दिने योजना बनाएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । आफ्ना छोरीलाई पढाइरहेका अति विपन्न महिलाको छनाेट गरी सिलिण्डर बाँडिएको उहाँले बताउनुभयो । वितरण गरिएको ग्याँस सिलिण्डरलाई सही सदुपयोग गरी त्यसबाट लाभ लिन सेवाग्राहीलाई वडाध्यक्ष पाण्डेयले अनुरोध गनुभयो ।

स्थानीय माल्ती कहारले अब धुवाँबाट आफुहरुले मुक्ति पाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘छोरीहरुलाई विद्यालयको पहुँच बढाउन गरिएको यो काम धेरै नै राम्रो छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?